सिमरा,सिमरामा संचालित ‘एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष’ मंगलवार सम्पन्न भएको छ । फुटवल क्षेत्रमा दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित जेठ २८ गते सुरु भएको प्रशिक्षण मंगलवार एक कार्यक्रमबीच सम्पन्न भएको हो ।
सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै प्रशिक्षणमा सहभागी २४ जनालाई एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्षको प्रमाणपत्र वितरण गरिएको छ । बारा जिल्ला फुटबल संघद्धारा आयोजित प्रशिक्षणमा मधेस प्रदेशका २३ र बागमती प्रदेशका एक जना सहभागी थिए ।
प्रशिक्षणका सहभागीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, सूर्य नेपाल प्रालिका कारखाना व्यवस्थापक सुरेशकाजी श्रेष्ठ, मधेस प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
एशीयाली फूटवल महासंघ (एएफसी) को प्राविधिक सहयोगमा भएको उक्त कोर्ष पहिलो चरणमा सात दिन र दोस्रो चरणमा पाँच दिन आयोजना गरिएको थियो । पहिलो र दोस्रो चरणको प्रशिक्षणपछि सहभागीले प्राविधिक र फिजिकल फिटनेसमा उतिर्ण हुनुपर्नेछ । उत्तीर्ण भएकाले मात्रै एएफसीबाट मान्यताप्राप्त सी वर्गको फूटवल प्रशिक्षकको लाइसेन्स पाउनेछन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रशिक्षणमा एशीयाली फूटवल महासंघ (एएफसी) को टेक्निकल अफ एजुकेशन डिपार्टमेन्ट प्रमुख सञ्जित सिंह र एन्फाका प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । सिंहको उपस्थितिमा भएको उक्त प्रशिक्षणलाई एएफसीले मान्यता दिएको छ ।
प्रशिक्षण समापन कार्यक्रममा नगर प्रमुख पौडेलले फूटबलको विकासमा एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष कोशेढुंगा सावित हुनेमा आफू आशावादी रहेको बताएका छन् । पौडेलले प्रशिक्षणमा सिकेका कुरा व्यवहारमा लागू गर्दै फूटबलको विकासमा लाग्न समेत सहभागीलाई आग्रह गरेका छन् ।कार्यक्रममा सूर्य नेपाल प्रालिका कारखाना व्यवस्थापक श्रेष्ठ, मधेस प्रदेश फूटबल संघका अध्यक्ष कार्कीलगायतले मन्तव्य राख्नुभएको थियो । बारा जिल्ला फूटबल संघको अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शम्भुसिंह ठकुरीले गर्नुभएको थियो ।



















