निजगढ,जंगली हात्ती आएर राजमार्गमा उभिएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ–पथलैया खण्डको सडक आइतवार पटक पटक गरी ३ घण्टासम्म अबरुद्ध बन्यो ।बाराको निजगढ नगरपालिकाबाट पश्चिमतर्फ राजमार्गमा पर्ने ७९ पुल नजिक सडक किनाराको जंगलमा बिहान ८ बजे र दिउसो १ बजेको समयमा जंगली हात्ती उभिएपछि राजमार्गमा चल्दै गरेका दर्जनौं सवारी र ढुवानीका साधनहरु रोकिएका थिए ।

हात्ती बसुन्जेल राजमार्गमा साना, ठूला र हल्का सवारी साधनसमेत ठप्प बनेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहले बताउनुभयो । ‘हात्ती देखेपछि डराएका चालकहरु साधन रोकर ३ घन्टासम्म सडकमै बसे, प्रहरी निरीक्षक कुशवाहले भन्नुभयो, हात्ती जंगल फर्केपछि मात्रै सवारी खुलेका हुन ।’राजमार्गको उत्तरतर्फको पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट आएको एउटा वयस्क हात्ती दुई पटकसम्म सोही ठाउँमा देखापरेको थियो । बिहान देखापरेको हात्ती नै दिउसो पनि राजमार्गमा आएको निरीक्षक कुशवाहाले बताउनुभएको छ ।

बाराको राजमार्गमा हात्तीले सडक अवरुद्ध गरेको यो नै पहिलो पटक नभएको जानफकारहरुले बताएका छन । यसअघि पनि हात्ती सडकमा निस्केपछि पटक पटक राजमार्ग अवरुद्ध हुदै आएको पर्सा राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन तथा हात्तीको व्यवहारबारे अध्ययन गर्नुभएका बाबुराम गोपाली बताउनुहुन्छ । ‘जंगल भएर जाने सडकमा हात्ती देखापर्नु स्वाभाविक नै हो, उहाँँले भन्नुभयो, तर एउटै हात्ती पटक पटक एकै स्थानमा देखापर्नुमा चाही केही खास कारण हुनसक्न ।’
कुनै कारणले बथानबाट अलग्गिएको हात्ती समूहका अन्य सदस्यलाई पर्खेर यसरी लामो समयसम्म एक स्थानमा बसेको हुनसक्ने उहाँको भनाई छ । सडक पार गर्ने क्रममा सोही स्थानबाट छुटेको समूहका अन्य हात्तीको खोज्दै सो हात्ती पनि पटक पटक आएर एकै स्थानमा बसेको हुनसक्ने उहाँले बताउनुभयो ।एउटै बथानमा चर्दै हिडेका हात्तीमध्ये अगाडि रहेको हात्तीले सडक पार गरिसक्दा पनि बथानका अन्य हात्ती राजमार्गमा चलेका सवारी र ढुवानीका साधनको तातीले रोकिएर अन्यत्रै मोडिएपछि हात्ती बथानबाट अलग्गिएको पनि हुनसक्ने उहाँको भनाई छ ।

Leave a Reply