काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग सोधपुछसमेत नगरि ललिता निवास प्रकरणको प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । सत्ता गठबन्धन दलहरुको दबाबपछि सीआईबीले नेपाल र भट्टराईसँग बयान नलिइ अनुसन्धान टुङ्ग्याउन लागेको हो ।यसअघि साउन २१ गते सर्वोच्च अदालतले सरकारी जग्गा व्यक्तिका नाममा लैजान मन्त्रिपरिषदबाट भएका निर्णयका ‘निर्णयाधिकारी’लाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो ।सर्वोच्चको आदेशपछि सीआईबीले पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई बोलाएर सोधपुछ गर्ने तयारी गरेको थियो । तर गएको सोमवार सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकपछि सीआईबी पछि हटेको हो ।बैठकमा सत्तारुढ दलका नेताहरुले सर्वोच्चको आदेशमाथि असन्तुष्टि जनाउँदै यसलाई न्यायिक सक्रियता भन्दै प्रश्न उठाएका थिए । महान्यायाधिवक्ता दीनमणि पोखरेलको समेत उपस्थितिमा बसेको बैठकमा दुवै नेताहरुलाई बयान नलिइ मुद्दा अघि बढाउने वातावरण बनाउन सत्तारुढ दलहरु सहमत भएका थिए । त्यसपछि दुवै नेतासँग बयान लिने तयारीमा रहेको सीआईबी पछि हटेको हो ।सीआईबीले भोलि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । ललिता निवास प्रकरणमा असार १२ गतेयता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित २० जनालाई पक्राउ गरेर सीआईबीले बयान लिइसकेको छ ।