कलैया,नेपाली कांग्रेस बाराले गत मंसिर ४ गतेको चुनावको समयमा पार्टीबाट निलम्बित १० जनाको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।कलैयास्थित बिपी स्मृती भवननमा शनिवार बसेको जिल्ला समितिको बैठकले जिल्ला उपसभापती अमिरीलाल पालसहित १० जनाको कारबाही फुकुवाका लागि केन्द्रीय अनुशासन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार हराउन लागेको भन्दै कांग्रेस केन्द्रीय अनुशासन आयोगले उपसभापति पालसहितका व्यक्तिलाई कारबाही गरेको थियो । उक्त कारबाहीमा परेका नेताहरु बैशाख १० गते बारा क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लागेकाले निलम्बन फुकुवाका लागि सिफारिस गर्ने निर्णय भएको कांग्रेस नेता लोकेश सिंहले बताउनुभयो ।कांग्रेस बाराले उपसभापती पालसहित जिल्ला कार्यसमिति सदस्य हरि थपलिया, रवीन्द्र यादव, वीरेन्द्र यादव, रामएकवाल यादव, महाधिवेशन प्रतिनिधि नरेश यादवसहित उत्तिमलाल बरै, कृष्णादेवी चौरसिया र रामनिवास साहको पनि कारबाही फुकुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । रवीन्द्र मंसिर ४ गतेको निर्वाचनमा बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा र वीरेन्द्र बारा २ (१) बाट प्रदेशसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बनेका थिए । कांग्रेस उपसभापती पाल र जिल्ला सदस्य थपलियालाई भने बारा ४ मा गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलाई असहयोग गरेको भन्दै कारबाही गरिएको थियो ।जिल्ला सभापती राजेशराय यादवको सभापतित्वमा बसेको बैठकले भदौ १५ गतेभित्र वडा तथा पालिका सम्मेलन, भदौ २० गतेभित्र क्षेत्रीय सम्मेलन र भदौ अन्तिममा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । वडा र पालिका सम्मेलन सम्पन्न गर्न जिल्ला समितिबाट १६ वटै पालिकामा प्रतिनिधि खटाउने निर्णय समेत बैठकले गरेको छ ।

Leave a Reply