काठमाडौ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौले सेनेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै बाराको कलैया उपमहानगरपालिकाका चारजना कर्मचारी सहित पाँच जना उपर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिक्षा शाखा प्रमुख प्रल्हादप्रसाद वर्णवाल शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ, सागर देवी फर्मा  तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाह विरुद्ध आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कलैया उपमहानगरपालिकाको कार्यालयले आब २०७७-०७८ र २०७८-०७९ को लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको भन्ने उजूरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो ।कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफले सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहसँगको मिलोमतोमा आर्थिक वर्ष २०७७।०७८ मा सेनिटरी प्याड खरिद गरिएको अख्तियारको आरोपपत्रमा लेखिएको छ ।

सेनेटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवंम सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी÷नगराई मिति २०७७।०८।१९ गतेको टिप्पणी निर्णयबाट सेनिटरी प्याडको अस्वभाविक मूल्य प्रतिप्याकेट ७९.१ रुपैया कायम गरी लागत इस्टिमेट स्वीकृत गराएको आरोप समेत उनीहरु उपर रहेको छ ।राष्ट्रसेवकसँगको आपसी मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्महरुको बोलपत्र पेश गरी÷गराई प्रति प्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैया कायम गरी ठेक्का दिएको समेत आरोपपत्रमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट २४ रुपैयामा मा खरिद गरेको देखिएको थियो । पछिल्लो वर्षभन्दा अघिल्लो वर्ष प्रतिप्याकेटमा ५४ रुपैयाका दरले ९६,२८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १ सय २० रुपैयाँ बढी भुक्तानी गरेको खुलेको छ ।प्रतिवादीहरु प्रहलादप्रसाद वर्णवाल, विजय अधिकारी, राजेश ठाकुर हजाम र दिव्या सर्राफको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (ङ) र (ञ) बमोजिमको कसुर गरेको दावी अख्तियारको रहेको छ ।

उनीहरुलाई बिगो एकाउन्न लाख उनान्सय हजार एक सय बीस रुपैंया कायम गरिएको छ। सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन माग दाबी अख्तियारले गरेको छ ।
सागर देवी फर्मा, हेटौडा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहले राष्ट्रसेवकसँगको मिलोमतोमा आर्थिक वर्ष २०७७÷०७८ को लागि सेनिटरी प्याड खरिद गर्दा प्रति प्याकेटमा ५४ रुपैयाका दरले ९६ हजार २८० प्याकेटको जम्मा एकाउन्न लाख उनान्सय हजार एक सय बिस रुपैंया बढी भुक्तानी लिएको देखिएकोले प्रतिवादीहरु सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाह उपर समेत आरोपपत्र दायर गरिएको छ ।

शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क),(ङ) र (ञ) बमोजिमको कसुरको नगद तथा अन्य गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुरमा बिगो रु.एकाउन्न लाख उनान्सय हजार एक सय बीस रुपैंया कायम गरिएको छ ।मुख्य कसूरदारहरुलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी विगो असुल उपर हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याश बमोजिम मुख्य कसूरदार सरह सजाय हुन मागदाबी समेत अख्तियारले गरेको छ ।

Leave a Reply