कलैया,वडाध्यक्ष र सचिवबिचको विवादमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा २ सातादेखि कामकाज ठप्प भएको छ ।वडाध्यक्ष छोटेलालप्रसाद कानु र वडाका कार्यालय सचिव राजवंशीप्रसाद यादवबिच विवाद हुँदा कार्यालयको काम प्रभावित बनेको हो । विवादका कारण काम रोकिएपछि स्थानीय बासिन्दा वडा कार्यालयबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएका छन ।नागपञ्चमीका दिन सो वडामा प्रत्येक वर्ष महावीर झन्डा मेला लाग्दै आएकोमा यस वर्ष पनि मेला लगाउने सम्बन्धमा दुवैबिच कुरा नमिल्दा सामान्य विवाद भएको र दुई सातादेखि कार्यालयको कामकाज ठप्प भएको स्थानीयवासीले गुनासो गरेका छन । वडा सचिव यादव पनि सोही वडाका बासिन्दा हुनुहुन्छ । वडाध्यक्षले वडा सचिवको कार्यकक्षमा ताला लगाएका छन ।वडा कार्यालयमा स्थानीयवासीको निवेदन र दैनिक गरिनुपर्ने नागरिकता सिफारिस, जन्मदर्ता, सामाजिक सेवा सुरक्षाको नवीकरणलगायतका कामको फाइल थन्किएको छ । जीवन बिमा र जग्गाको सिफारिसका लागि १२ दिनदेखि वडा कार्यालयमा धाउँदै आएको भएपनि आफूहरुले सेवा प्राप्त गर्न नसकेको स्थानीयले गुनासो गरेका छन ।वडाध्यक्ष कानुले स्टाम्प, स्टेपलर र लेटरप्याड लिएर आफ्नो कक्षमा राखेको र बाहिर गएकोले काम गर्न समस्या भएको वडा सचिव यादवले बताउनुभयो । मेला लगाउने विषयमा वडाध्यक्ष कानुले मनपरी गर्न खोजेपछि त्यसको विरोध गर्दा यो अवस्था आएको उहाँले बताउनुभयो ।वडाध्यक्ष र सचिवको विवादले कार्यालय नै ठप्प भएपछि स्थानीय बासिन्दाले प्रसौनी गाउँपालिका कार्यालयमा दुःखेसो पोखेका छन । वडा सचिव यादव र वडा अध्यक्ष कानुबीचको विवादमा कार्यालयको काम प्रभावित भएपछि सचिव यादवलाई अन्य वडामा सरुवा गरेर अर्को वडाका सचिव अमित दुलाललाई पठाइएको गाउँपालिकाका कार्यालय प्रमुख सुमितकुमार सिंहले जानकारी दिनुभयो ।

Leave a Reply