वीरगन्ज,वीरगन्जस्थित नारायणी सिँचाई व्यवस्थापन कार्यालयले करोडौं मूल्य बराबरको सात कट्ठा १५ धुर जग्गाको लालपुर्जा प्राप्त गरेको छ ।

कार्यालय हाताभित्र रहेको कूल पाँच बिघा क्षेत्रफलमध्ये पछिल्लो पटक थप सात कट्ठा १५ धुर जग्गा ३६ वर्षपछि कार्यालयको नाउँमा आएको हो । २०३०÷३२ मा सरकारले मुआब्जा दिई अधिग्रहण गरे पनि लगत कट्टा हुँन नसकेपछि उक्त जग्गाको लालपुर्जा कार्यालयको नाममा बन्न सकेको थिएन् ।

साविक पर्सा बहुअरी गाविस वडा नम्बर ७ को कित्ता नम्बर ४ को सो जग्गाको भूमिसुधार तथा मालपोत कार्यालयले लगत कट्टा गरी लालपुर्जा बनाएपछि उक्त जग्गाको स्वामित्व कार्यालयको नाउँमा आएको कार्यालय प्रमुख प्रसुन मिश्रले जानकारी दिनुभयो ।

तत्कालीन अञ्चालाधीशको कार्यालयले नारायणी अञ्चल सिँचाइ विकास आयोजनाका लागि प्रतिकट्ठा एक हजारका दरले मुआब्जा दिई जग्गा अधिग्रहण गरेको थियो । सो जग्गा वीरगन्ज १४ का स्व. सिलाकत मियाँको नाममा रहेको थियो । उक्त जग्गा स्व मियाँका छोरा जहुरद्दीन अंसारीको नामबाट नामसारी भएर हाल कार्यालयको नाममा आएको हो ।

सुुरूमा उक्त जग्गा बारा भूमिसुधार तथा मालपोत कार्यालय मातहत थियो । जग्गा अधिग्रहण गरी लगत कट्टा गर्ने बारे अञ्चलाधीशको कार्यालयले भूमि प्रशासन कार्यालय, बारालाई पत्र लेखेको थियो ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयलाई २०७६ सालमा जग्गाको स्वामित्व बारे जानकारी भएपछि जग्गा प्रातिको लागि प्रक्रिया सुरू गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here