सिकिन्द्र साह
सिम्रौनगढ,आम जनता पार्टीका अध्यक्ष एवंम रौतहट क्षेत्र नं ३ बाट निर्वाचित संघीय सांसद प्रभु साहका स्वकीय सचिव विजय यादव निर्विजले अविरल वर्षा र बाढी प्रभावित आफ्नो निर्वाचन क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।गत स्थानीय निर्वाचनमा रौतहटको फतुवा विजयपुर नगरपालिकाको मेयर पदका प्रत्यासी यादवले आफ्नो नगरसहित निर्वाचन क्षेत्र नम्बर ३ का अधिकांश स्थानीय तहमा पुगेर जनताको दुःखमा साथ दिने प्रयत्न गर्नुभएको हो । मंगलबार बिहानदेखि फतुवा बिजयपुर नगरपालिकाको विभिन्न वडामा पुगेर उहाँले बाढी तथा वर्षाबाट विस्थापितलाई भेट्नु भएको थियो ।यादवले रौतहट जिल्लाफतुवा बिजयपुर नगरपालिका वडा नम्बर ८ बुनियाँद र कटहरिया र विजयपुर जोड्ने गम्हरियागाउँ नजिक अविरल वर्षाले प्रभावित स्थानको अनुगमन तथा निरीक्षणपछि प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यमा सहयोग गर्न सरोकारवाला निकायहरुमा अनुरोध गर्नुभएको छ ।निरीक्षणको क्रममा क्षतिग्रस्त बनेका लालबकैया नदीको बाँध र अविरल वर्षा तथा बाढीबाट क्षतिग्रस्त सडकलाई तत्काल मर्मत आवश्यक रहेको यादवले बताउनुभयो । अविरल वर्षा र बाढीबाट रौतहट क्षेत्र नं. ३ अन्तरर्गत कटहरियाघाट नदी पुलको दुबैतर्फको सडक बगाएको छ ।मंगलबार रौतहटको फतुवा बिजयपुर नगरपालिका बुनीयादमा लालबहादुर चौधरीलाई स्थानीयले उद्धार गरेका छन् । यस्तै मंगलबार नै खेतमा काम गरेर फर्किदा एक्कासी वागमती नदीमा बाढी आउदा रौतहटको गढीमाई नगरपालिका वडा नम्वर २ का एक वृद्धको खोलामा डुबेर मृत्यु भएको छ ।गढीमाई नगरपालिका वडा नम्वर २ का ६५ वर्षिय सहिद राय भाँटलाई बिहान बागमती नदी पारी सर्लाही बरहथवा नगरपालिकाको वडा नम्वर ४ स्थित खेतमा काम गरेर फर्किरहेको अवस्थामा मंगलबार दिउँसो १२ बजेको समयमा बाढीले बगाएर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।भाँटलाई डुबिरहेको अवस्थामा स्थानीयले उद्धार गरेर उपचारको लागि चन्द्रपुर अस्पतालमा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले बताउनुभयो ।यस्तै भैंसी गोठाला गएका राजपुर नगरपालिका ३ फतुवा महेशपुरका ३ जना युवकहरु मंगलवार नै लालबकैया नदीको बगरमा फसेका थिए । सुरक्षाकर्मीहरुद्वारा उनीहरूको उद्धार गरिएको थियो ।परोहा नगरपालिका ४ पोखरिया स्थित लालबकैया नदीमा ४ जना गोठाला फसेको खबर प्राप्त भएको छ तिनिहरुलाई उद्धार गर्न डुङ्गा सहितको सुरक्षाकर्मीलाई परिचालन गरिसकेको एसपी मगरले जानकारी दिनुभयो ।त्यसैगरी मौलापुर नगरपालिका १ मर्यादपुर स्थित बाकैया नदीको बाढीबाट जोगिन रुखमा बसेका युकलाई समेत उद्धार गरेर सकुशल बाहिर ल्याइएको जानकारी दिदै रौतहट प्रहरीका एसपी मगरले दुर्गा भगवती वडा नम्वर ५ बडहर्वामा वागमती र झाझ खोलाको बाढीबाट गाउँ वरिपरिका क्षेत्र पूर्ण रुपमा डुबानमा परेको तथा त्यहाँ रहेको प्रहरी चौकीभित्र बाढी पसेको पनि जानकारी दिनुभयो ।निरन्तर रुपमा वागमती सहितका नदीहरुमा पानीको सतह बढिरहदा नदी किनारका बासिन्दाहरु सुरक्षित रुपमा रहन आग्रह गरिएको उहाँले बताउनुभयो ।
















