जनकपुरधाम,मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । गएको जेठ २५ गते मुख्यमन्त्रीको शपथ लिनुभएका जनमत पार्टीका सिंहले शनिवार प्रदेश सभामा विश्वासको मत लिनुभएको हो ।
प्रदेश सभामा उपस्थित एक सय एक जना सांसदमध्ये मुख्यमन्त्री सिंहको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ । एक सय सात सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मतका लागि ५४ मत पर्याप्त हुन्छ ।मुख्यमन्त्री सिंहलाई जनमतसहित नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदहरूले भने विपक्षमा मतदान गरेका छन् ।सङ्घमा नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री सिंहले शनिवार बिहान मात्रै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरी छ जना मन्त्रीलाई बर्खास्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here