वीरगञ्ज,वीरगञ्जको आदर्शनगरमा आगलागी भएको छ । आदर्शनगरस्थित नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकअगाडि आगलागी भएको हो । मंगलवार बिहान साढे ११ बजेतिर भएको आगलागीबाट २ वटा मोटरसाइकल पूर्ण रुपमा जलेर क्षती भएको छ ।साढे ११ बजे लागेको आगोलाई वीरगञ्ज महानगरपालिकाको दमकलसँगै नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकको फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र) र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो । उहाँकाअनुसार आगलागीबाट बैंक कार्यालयअगाडि सडकमा पार्किङ्ग गरिएको वीरगञ्ज महनागरपालिका वडा नम्बर ३ बस्ने संजयप्रसाद यादवको प्र.२–०३–०१८प ८२१९ नम्बरको कालो रङको १५० सिसी पल्सर मोटरसाइकल जलेको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगंज बस्ने मिथिलेशप्रसाद यादवको प्र.२–०३–००१ प ७९०४ नम्बरको १५० सिसीको कालो रातो रंगको पल्सर मोटरसाइकल पनि जलेर नष्ट भएको अध्यक्ष खेतानले बताउनुभयो । आदर्शनगरस्थित ट्रान्सफर्मरअगाडि दुवै मोटरसाइकल पार्किङ्ग गरिएको हुँदा आगो लागेर नष्ट भएको खेतानको भनाई छ ।
उहाँले अबदेखि कसैलाई पनि विद्युतीय पोल वा ट्रान्सफर्मर लगायतका विद्युतीय सामग्री नजिक सवारी पार्किङ्ग नगर्न पनि अनुरोध गर्नुभएको छ ।आगो के कारणले लागेको हो भन्ने खुलिसकेको छैन । यद्यपि विद्युत सर्ट भएर लागेको हुन सक्ने अनुमान गरिएको छ ।
पछिल्लो समय घरघरमा विद्युतको खपत अत्यधिक बढेको छ । वीरगञ्जमा मात्रै एक वर्षमा ब्लु स्टार कम्पनीले एक हजारभन्दा बढी एसी बिक्री गरेको तथ्यले विद्युतको खपत बृद्धि भएको प्रमाणित हुन्छ । एउटा कम्पनीको यति धेरै बिक्री हुन्छ भने अन्य कम्पनीका पनि सोही संख्याको हाराहारीमा हुने गरेको छ ।

 

Leave a Reply