कलैया,अधिवक्ता भगवती पाण्डे शितललाई कारबाही गर्नुपर्ने माग गर्दै नेपाल मगर संघ र नेपाल तामाङ घेदुङले सोमवार देशभर जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाएका छन् ।यसै क्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति र नेपाल मगर संघ जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय बारा र पर्सा जिल्लामा पनि संयुक्त ज्ञापन पत्र बुझाएको छ ।नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समितिका अध्यक्ष सूर्यबहादुर घलान, नेपाल मगर संघका बारा जिल्ला अध्यक्ष पानबहादुर रानामगरमगरको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटामार्फत ज्ञापन पत्र बुझाएको हो । प्रजिअ सापकोटालाई ज्ञापन पत्र बुझाउनुअघि अधिवक्ता पाण्डेमाथि कारबाहीको माग गर्दै सहभागीहरुले नाराजुलुससमेत प्रदर्शन गरेका थिए ।ज्ञापनपत्रमा तामाङ र मगर समुदायलाई अपराधीकरण गर्ने गरि विवादास्पद अभिव्यक्ति दिने अभिवक्ता पाण्डेलाई कानून बमोजिमको कारबाही गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा आफ्नो माग राख्ने क्रममा अभियान्ताहरुलाई नियन्त्रणमा लिएर अनावश्यक बल प्रयोग गरी चरम यातना दिने प्रहरीलाई कारबाही गर्नुपर्ने र साउन ४ गते आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाईते भएका दर्जनौ अभियन्ताहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्तिको माग गरिएको छ ।त्यसैगरी पर्सा जिल्लामा संघका केन्द्रीय सल्लाहाकार कमलबहादुर पिठाकोटे मगर, जिल्ला अध्यक्ष रमेश थापा मगरको नेतृत्व र घेदुङका जिल्ला सचिव छेडुप लामाको नेतृत्वमा गएको दुवै संगठनले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापनपत्र बुझाउन जाने टोलीमा नेपाल तामाङ घेदुङ पर्साका उपाध्यक्ष बुद्धलाल लोप्चन, महानगर अध्यक्ष मनोज लामा, ठोरी गाउँपालिका अध्यक्ष जितु तामाङ, सागर लामा, नेपाल आदिवासी जनजाति महासंघका पर्सा अध्यक्ष सोमबहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।

















