रौतहट,गौर हत्याकाण्डका दोषिमाथि कारबाही नभएको भन्दै घटनाको १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर आइतवार रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले नेतृत्व गरेको आमजनता पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साहले मुद्दा दर्ता गर्नुभएको हो ।सो मुद्दाको पेसी तारीख जेठ २२ गते सोमबारलाई तोकिएको छ ।गौर हत्याकाण्ड भएको १६ वर्ष बितिसक्दा पनि अहिलेसम्म दोषिमाथि कारबाही हुन सकेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।गौर घटनामा श्रीमान् गुमाएपछि न्याय माग्दै पटक पटक आन्दोलन, पटक पटक धर्ना बसेको, तर १६ वर्षको अवधिमा कसैले पनि न्यायका लागि पहल नगरेको बौधिमाई नगरपालिका वडा नम्बर ८ बस्ने रूपसागर उपाध्यायको दुखेसो छ । घटनामा उहाँका पती नर्मदेश्वर उपाध्यायको हत्या भएको थियो । गौर हत्याकाण्डपछि वर्तमान प्रधानमन्त्री एवंव माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा पार्टीका तत्कालिन वरिष्ठ नेता एवंम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दोषिमाथि कारबाही गर्न चासो नदेखाएकोले आफूहरु थप पीडित भएको उपाध्यायको गुनासो छ ।केहि दिनअघि पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पीडित परिवारलाई न्याय दिलाउने कार्यमा पहल गरिदिन आग्रह गरेका थिए ।मृतक प्रमोद यादवका बुवा रामशरण यादव र मृतक नर्मदेश्वरकी श्रीमती रूपसागर लगायत आजपाका नेताको टोली सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न पुगेका थिए ।२०६३ साल चैत्र ७ गते रौतहट जिल्ला सदरमुकाम गौरस्थित राईसमिलको चौरमा तत्कालिन मधेसी जनअधिकार फोरम र तात्कालिन नेकपा माओवादीले एउटै स्थानमा सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो । झडपमा परी २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । सो घटनामा ५० भन्दा बढी माओवादी कार्यकर्ता घाईते भएका थिए ।माओवादी कार्यकर्तालाई लक्षित गरी गरिएको आक्रमण पूर्वनियोजित तथा संगठित रूपमा भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले समेत ठहर गरेको थियो ।

Leave a Reply