पुष्पराज खतिवडा
मनहर्वा,बारा प्रहरीले एक सय ५७ केजी लागूऔषध गाँजासहित सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका व्यक्तिलाई सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले आइतवार साँझ जीतपुरसिमरा वडा नम्बर २२ स्थित अमलेखगंजको जंगलबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।गाँजा ओसारपसार भईरहेको सूचना पाएपछि प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले तीन नेपाली र चार भारतीय नागरिकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १ का ३९ वर्षीय रोशन नेगी, भिमफेदी गाउँपालिका वडा नम्बर ९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्धिन खान, १८ वर्षीय देव कुमार, ३५ वर्षीय जागिरद्धिन मियाँ, भारत बहराईजका २६ वर्षीय अहमद भाट रहेका छन् । उनीहरुको साथबाट बा ११ च ४९९२ नम्बरको स्कोरपियोसहित एक थान भारतीय नम्बर प्लेटलको पिकअप र एक थान भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।प्रहरी उपरीक्षक बोगटीका अनुसार हेटौडा उपमहानगरपालिका वडा नम्बर १ का नेगीले नेपाली नम्बर प्लेटको स्कोरपियो गाडीमा ६ बोरा गाँजा राखेर अमलेखगंजस्थित जंगलमा ल्याएको सूचना पाएपछि प्रहरी घटनास्थलमा खटिएको थियो । जंगलभित्रबाटै अर्को पिकअप गाडीमा राखेर लैजाने योजनासहित नेगीले हेटौडाबाट गाँजा ल्याएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।नेगीलाई नियन्त्रणमा लिएपछि प्रहरीले भारतीय नम्बर प्लेटको पिकअप गाडी र मोटरसाइकलमा गाँजा लिन आएका व्यक्तिलाई जंगल भित्रैबाट पक्राउ गरेको हो । घटनास्थलबाट पाँच जनालाई पक्राउ गरेको प्रहरीले अन्य दुई जनालाई उनीहरुको बयानका आधारमा पक्राउ गरेको हो ।प्रहरी उपरीक्षक बोगटीले गाँजा ओसारपसारमा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने देखिएकाले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताउनुभयो । पक्राउ परेका व्यक्तिमाथि लागूऔषध मुद्दामा कारबाही गरिने समेत बोगटीले जानकारी दिनुभयो ।बारा प्रहरीले पछिल्लो समय लागुऔषध ओसारपसार विरुद्ध सक्रियता बढाएको छ । जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्षमा मात्रै प्रहरीले १ हजार ७ सय केजी गाँजा बरामद गरेको थियो । प्रहरीले यसअघि ठुलो परिमाणमा गाँजा बरामद गर्दैआएको भए पनि कारोबारमा संलग्न मानिस भने फेला पार्न सकेको थिएन । यसपटक कारोबारमा संलग्नहरुलै फेला पारिएको उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।


















