सिमरा,बाराको सिमरामा सोमवारदेखि सुरु हुने दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ ।आयोजक मधेस प्रदेश फुटबल संघले आइतवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो । सिमरा रंगशालामा सोमवारदेखि शुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ ।प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने मधेस प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले ३० हजार रुपैया पाउने बताउनुभयो । प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहनेछ ।सिमरा रंगशालामा रातीको समयमा फ्लड लाईटमा सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमकाबीच मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले उद्घाटन गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।बारा जिल्ला फुटबल संघको सहआयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल बारा जिल्ला फुटबल संघ र पर्सा जिल्ला फुटबल संघबीच हुनेछ । दुई टिमबीचको उद्घाटन खेल दिउसो ४ बजेदेखि शुरु हुनेछ ।पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले प्रतियोगितामा प्रत्यक दिन म्यान अफ द म्याचको ट्रफिसहित विधागत पुरस्कारको समेत व्यवस्था गरिने बताउनुभयो । प्रतियोगिताको ब्रोडकाष्टिङ पार्टनरमा गोल नेपाल डटकम रहेको छ ।आयोजकले खेलाडी, रेफ्रि, अफिसियल, आयोजक र दर्शकको लागी ईन्सुरेन्सको समेत व्यवस्था गरेको जनाएको छ । प्रतियोगितामा तेश्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुने बताइएको छ ।रामनारायण मिश्र फुटलब प्रतियोगिताको पहिलो संसकरण धनुषाको महेन्द्र नगरमा भएको थियो । पहिलो संसकरणको बिजेता सर्लाही जिल्ला फुटबल संघ र उपबिजेता बारा जिल्ला फुटबल संघ भएको थियो ।पत्रकार सम्मेलनमा बोल्दै मधेश प्रदेश फुटबल संघका बरिष्ठ उपाध्यक्ष विजय गुप्ताले प्रतियोगिताले जीतपुरसिमराको विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो । मधेस प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भु सिंह ठकुरीले सबै मिलेर प्रतियोगिता सफल बनाउनुपर्ने बताउनुभयो ।बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताले यस क्षेत्रको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताउनुभयो । लामाले मधेस प्रदेश स्तरीय खेलको व्यवस्थापन बाराले पाउनु निकै खुशीको विषय भएको बताउनुभयो । मधेस प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव विकाश शाहले गर्नुभएको थियो ।


















