राजन कुमार बानिया
पोखरिया – पर्साको पोखरिया नगरपालिकामा विगत ६ महिना अगाडी बालक अब्दुल्लाहको हत्या प्रकरणमा गहन छानबीन गरि सत्य तथ्य बाहिर ल्याउने पर्साका एसपी गंगा पन्तले हत्या स्थलको अनुगमन गरेका छन् । एसपी पन्तले अब्दुल्लाहको शव बरामद भएको पोखरी लगायत घटनासंग सम्बन्धीत ठाउँको बिहिबार अनुगमन गर्दै पन्तले घटनाको रहस्य चाडै बाहिर आउने विश्वास व्यक्त गरीन् । घटनामा अनुसंधानलाई तिब्र पार्न एसपी पन्तले निर्देशन पनि दिए ।
पर्सा प्रहरी उपरिक्षक पन्तले आफनै कार्यकाल मै घटनाको अनुसंधान पुरागरि सत्य कुरो बाहिर ल्याउने पिडित परिवारलाई आश्वासन दिईन् । अनुगमनको क्रममा पोखरिया नगरपालिकाका मेयर दिपनरायण रौनियार, घटनाको अनुसंधान अधिकृत ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र सिंह , अब्दुल्लाहका बुबा गनि अन्सारी, राजु रौनियार लगायत स्थानिय जनप्रतिनिधीको उपस्थिती रहेको थियो ।
पोखरीया नगरपालिका वडा नम्बर ५ निवासी शिक्षक गन्नी अन्सारीको १४ वर्षिय छोरा अब्दुल्लाह वितेको असोज १९ गते घरबाट हराएको र असोज २१ गते घर नजिकै रहेको पोखरीबाट उसको शव फेला परेको थियो । शवको अवस्था तथा केहि महिना पश्चात पोखरीको डिलबाट बरामद लत्ता कपडाको स्थितीले घटना सुनयोजित भएको देखिएको थियो ।
पोष्टमार्टम रिपोर्ट र विभिन्न प्रयोगातमक परिक्षण आपसमा बाझिनुले पनि घटना नियोजित अपराध नै भएको प्रष्ट भएको अवस्थामा पनि प्रहरीले हाल सम्म दोषी पता लगाउन सकेको छैन । प्रहरीको निस्कृयताले सो क्षेत्रका जनसमुदायमा असुरक्षाको महसुस गर्दै चिन्तित बनेका छन् ।