कलैया,कलैया उपमहानगरपालिकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न खेलमा सहभागी भएर पदक जितेका कलैयाका खेलाडीहरुलाई सम्मानित गरेको छ ।नगर प्रमुख बिनोद साहको प्रमुख अतिथ्यतामा सोमवार नगर खेलकुद विकास समितिले आयोजना गरेको एक कार्यक्रममा खेलाडीहरुलाई सम्मानित गरिएको हो ।कार्यक्रममा नगर प्रमुख साह तथा उपप्रमुख रौशन प्रविनले प्रधानमन्त्री कप महिला क्रिकेटमा बिजयी १४ जना खेलाडी, भारतको देहरादुनमा आयोजित कराते प्रतियोगितामा स्वर्ण पदक विजेता ५ जना खेलाडी तथा गुवाहाटस्मा पदक जित्ने एक जना खोखो खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मानित गर्नुभएको हो ।खेलाडीहरुलाई सम्मानित गर्दै नगर प्रमुख साहले नगरभित्र खेल क्षेत्रको विकासको लागि आफू लागिपरेको बताउदै खेल र खेलाडीहरुको संरक्षण तथा प्रवद्र्धनको लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ ।नगर खेलकुद विकास समितिका संयोजक एम.समिउल्लाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्षहरु अशोक तिवारी, रंजित चौरसिया, रजेश महता नगर खेलकुद विकास समितिका सदस्यहरु दिनदयाल साह, आमोद साहलगायतकाको सहभागिता रहेको थियो ।सम्मानित खेलाडी तथा प्रशिक्षकहरुलाई उपमहानगरपालिकाले एक–एक थान ट्याकसुट पुरस्कारसमेत प्रदान गरेको थियो ।

















