मुलुकको प्रमुख प्रवेश द्वार भनिएको वीरगञ्ज, कुनै समयमा निकै फोहोर थियो । वीरगञ्ज भन्सार नाकाबाट छिर्ने बित्तिकै वीरगञ्जको दुर अवस्था देखिन्थ्यो तर अहिले वीरगञ्जमा सरसफाइको सवालमा धेरै परिवर्तन आएको छ ।दश वर्षअगाडिको वीरगञ्ज र आजको वीरगञ्जमा धेरै परिवर्तन देखिएको छ । यसो हुनुमा वीरगञ्ज महानगरपालिकाले लिएको सरसफाइको नीति नै हो । वीरगञ्ज महानगरपालिकाले सरसफाइमा केही परिवर्तन गरेसंगै वीरगञ्ज सफा बन्दै गइरहेको हो । जनप्रतिनिधिहरु महानगरपालिकामा पुगेपछि भने सरसफाइले अझै गति लिएको हो ।पछिल्लो समय वीरगञ्ज महानगरपालिका सरसफाइको सवालमा निकै आक्रमक र कठोर बन्दै गइरहेको छ । वीरगञ्ज नगरवासीहरुको बानी नै थियो, सडकमा जथाभावी फोहोर फाल्ने । यो बानीमा परिवर्तन ल्याउनका लागि महानगरपालिकाले निकै संघर्ष गर्नपरेको थियो । यद्यपि अहिले नगरवासीको बानीमा परिवर्तन त आएको छ ।अब सडकमा जथाभावी फोहोर फाल्नेलाई वीरगञ्ज महानगरपालिकाले सार्वजनिक अपराधको मुद्दा चलाउने भएको छ । झटट् सुन्दा यो निर्णय कठोर र अलि कडा जस्तो लागे पनि सरसफाइको सवालमा भने वीरगञ्ज महानगरपाकिाले कडाइ गर्न आवश्यक देखिन्छ । कडाइ गरेको खण्डमा मात्रै वीरगञ्जको शहर अझै सफा र सुन्दर पनि हुनेछ । त्यसैले सरसफाइमा कडाइ आवश्यक छ ।















