सिमरा,हुलास स्टील इण्डष्ट्रिज सिमराले आइतवारबाट वातावरण मैत्री दुईवटा नयाँ प्लान्ट सञ्चालनमा ल्याएको छ ।हुलास स्टील इण्डष्ट्रिज लिमिटेडका संस्थापक एवं सञ्चालक दिवाकर गोल्छाको ७०औँ जन्मोत्सवको अवसर पारेर उद्योगले नयाँ वातावरणमैत्री प्लान्ट जडान गरेर सञ्चालनमा ल्याएको हो ।हुलास स्टील इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी हिमांशु गोल्छाको अध्यक्षतामा भएको एक कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्लान्टको उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले आर्थिक वर्ष २०८०÷८१ लागि बनेको आर्थिक ऐन २०८० कुनै पनि अवस्थामा परिमार्जन नहुने बताउनुभएको छ ।व्यवसायीहरुले ऐन संशोधनको माग तथा आग्रह गरिरहेका बेला प्रमुख पौडेलले आर्थिक ऐनका विभिन्न शीर्षकहरुको परिभाषामा आवश्यक छलफल गर्न तयार रहेपनि परिमार्जनका विषयमा नगरपालिका तयार नभएको बताउनुभयो । राज्यलाई कर तिर्ने सवालमा ल्याइएको यस्तो ऐन परिमार्जन नहुने मेयर पौडेलको धारणा थियो ।कार्यक्रममा बोल्दै उपप्रमुख भोलाप्रसाद अधिकारीले हुलासबाट निस्किने प्रदुषित पानीलाई व्यवस्थापन गर्न उद्योगले आवश्यक कार्य गर्नुपर्ने सुझाव दिनुभएको थियो ।त्यस्तै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले उद्योगले देशको अर्थतन्त्रलाई मजबुत बनाउने हुनाले उद्योगको विकास हुनुपर्ने धारणा राख्नुभयो । प्रजिअ सापकोटाले वातावरणीय प्रदुषण र सुरक्षा लगायतको विषयमा उद्योगीहरुलाई गम्भीर हुन आग्रह गर्नुभयो ।कार्यक्रममा बारा पर्सा औद्योगिक करिडोरका संयोजक सञ्जय साह र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले स्थानीय सरकारले विभिन्न शीर्षकमा लगाइएको करले उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गर्दै आवश्यक छलफल गरी अघि बढ्न स्थानीय सरकार प्रमुखसँग आग्रह गर्नुभएको थियो ।कार्यक्रममा सुरक्षा निकायका प्रमुख लगायत विभिन्न व्यक्ति तथा उद्योगका कामदारहरुको उपस्थिति रहेको थियो ।


















