राज कुमार यादव
मौलापुर,गौर हत्याकाण्डको दोषिहरुलाई कारबाहीको माग गर्दै आम जनता पार्टीले आइतवार रौतहटका विभिन्न स्थानमा मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ ।आम जनता पार्टी र सहिद परिवारले साउन १५ गतेदेखि आह्वान गरेको अनिश्चितकालिन रौतहट जिल्ला बन्दको अघिल्लो दिन रौतहटमा मोटरसाइकल ¥यालीको आयोजना गरिएको हो । कटहरियाबाट सुरु भएको सुरु भएको मोटरसाइकल ¥याली गरुडा हुदै चन्द्रपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्दै आजपाका महासचिव नेता उपेन्द्र साहले हत्याकाण्डका दोषिमाथि कारबाही गरेर पीडितलाई न्याय दिलाउन आफूहरु लागि परेको बताउनुभयो । उहाँले दोषिमाथि कारबाही गराउन आफूहरु जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने जानकारी दिनुभयो । न्यायकोलागि पीडितहरुले आह्वान गरेको अनिश्चितकालिन रौतहट जिल्ला बन्दलाई सफल पार्न यातायात व्यवसायी, मजदुर, उद्योगी, व्यापारी र सर्वसाधारणसंग नेता साहले आग्रह गर्नुभएको छ ।घटनाका सहिद परिवार र आजपाले साउन १ गते रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापन पत्र बुझाएर तत्कालिन समयमा परेको किटानी जाहेरीको आधारमा पीडकहरु विरुद्ध कारबाही सुरु नगरिएमा चरणबद्ध रुपमा आन्दोलनमा गर्ने जानकारी गराएको थियो ।जसअनुसार संघर्ष समितिले साउन २ देखि १२ गतेसम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया गरेको थियो भने साउन १३ गते सहिद परिवार एवं पीडितद्धारा चन्द्रपुर नगरपालिकामा धर्ना दिइएको थियो ।गौर हत्याकाण्डको १७ वर्ष बितिसक्दा पनि राज्यले दोषिहरुलाई कारबाही गर्न कुनै चासो नदेखाएपछि आम जनता पार्टी र सहिद परिवारले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको आजपाका महासचिव साहले बताउनुभयो ।गौरस्थित राइस मिलको प्रङ्गणमा आमसभा गर्ने विषयमा फोरमका कार्यकर्ताहरुको आक्रमणबाट माओवादीका २८ जना कार्यकर्ताको घटनास्थलमा नै मृत्यु भएको थियो ।
अनिश्चितकालीन बन्द फिर्ता
मौलापुर,गौर हत्याकाण्ड पीडित संघर्ष समितिले सोमवारको लागि आह्वान गरेको अनिश्चितकालीन जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको छ ।समितिकी संयोजक रुपसागर उपाध्यायले आइतवार राति अबेर प्रेस वक्तव्य जारी गरेर सत्तारुढ दलका कार्यकर्ताहरुले नै बन्द प्रतिकारको नाममा हिंसा भडकाउने षडयन्त्र गरेको पाइएकोले संघर्षका अन्य कार्यक्रमलाई यथावत राख्दै जिल्ला बन्द भने फिर्ता लिएको जानकारी गराइएको हो ।‘सत्ताधारी पार्टीका कार्यकर्ताहरु हाम्रो आन्दोल विरुद्ध सडकमा मुठभेड़ खडा गर्ने तयारीमा छन, विज्ञप्तिमा भनिएको, यस्तो अवस्थामा हामीले जिम्मेवार बनेर बन्दको सबै कार्यक्रम फिर्ता लिएका छौं ।’ ‘आन्दोलनको कार्यक्रमलाई परिमार्जन गर्दै धर्ना कार्यक्रमलाई भने यथावत राखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।न्यायको लागि आफूहरुले सुरु गरेको आन्दोलनलाई सरकारले गंम्भीरतापूर्वक लिनुपर्नेमा उल्टै पीड़तिलाई धम्काउने, तर्साउने र अपराधीलाई बचाउने खेलमा लागेको पाइएको विज्ञप्तिमा उल्लेख छ । ‘न्यायको लागि भिख माग्दै सडकमा उत्रेका हौ, संयोजक उपाध्यायले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, तर उनीहरु अर्को गौर हत्याकाण्ड दोहो¥याउने धम्की दिइरहेका छन् ।’ सत्ताधारी दलको कभरमा अपराधीद्वारा निर्माण गरिएको मुठभेडको अस्वाभाविक अवस्थालाई ध्यानमा राखेर संघर्षको कार्यक्रमलाई परिमार्जन गरेको विज्ञप्तिमा जनाइएको छ ।

















