सेढवा,साउन महिना लागेसंगै पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको दुग्धेश्वरनाथ महादेव भाठा धाममा भक्तजनहरुको भीड लाग्न थालेको छ ।पवित्र धार्मिक दुग्धेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका सदस्य महादेव प्रसादले साउन महिनाभर मन्दिर क्षेत्रमा मेला लाग्ने र मेलामा हजारौको संख्यामा भक्तजनहरुको घुइँचो लाग्ने गरेको बताउनुभएको छ ।नेपाल र भारतका श्रद्धालुहरुको आस्थाको केन्द्रको रुपमा रहेको मन्दिरमा वर्षौदेखि भक्तजनले पुजा पाठ गर्दै आएका छन ।यो मन्दिर पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालयदेखि करिव २८ किलोमिटर पश्चिममा रहेको छ । यहाँ ५०औ वर्षदेखि साउन महिना, माघेपञ्चमी र नयाँ वर्षको दिन मेला लाग्ने गरेको हो ।विगतमा भाठा गाउँ रहेको सो क्षेत्रमा सरकारले एक दशकअघि बस्ति अन्यत्र सारेर निकुञ्ज क्षेत्र विस्तार गरेको हो । दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न ग्रामीण भेगबाट हजारौको संख्यामा भक्तजनहरु आउने गरेका हुन ।यस्तै रामभौरी भाठामा रहेको दुग्धेश्वर मन्दिरलाई धार्मिक र पर्यटकीय दृष्टिले विकास गर्न आफूले पनि सहजीकरण गर्ने बारा क्षेत्र नम्बर ४ का संघीय साँसद किसान श्रेष्ठले बताउनुभएको छ । सोमवार पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको श्री श्री १०८ श्री दुग्धेश्वर महादेव मन्दिर (भाथा मेला)को दर्शन तथा अवलोकनका क्रममा पूर्व मन्त्री समेत रहनुभएका श्रेष्ठले सो क्षेत्रको विकासका लागि सहजीकरण गर्ने बताउनुभएको हो ।निकुञ्जले वन्यजन्तुको सुरक्षा तथा मानव सुरक्षाका कारण मुख्य मेला लाग्ने समयबाहेक अरु बेला सो क्षेत्रमा अनुमति बिना सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष अलखदेवप्रसाद थारु जनप्रतिनिधिको बेवास्ताका कारणले यस क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न समस्या भएको गुनासो गर्नुहुन्छ । यस क्षेत्रमा कसैले चासो नदिएकाले पानी, बाटो र विद्युतको समस्या झेल्न बाध्य भएको उहाँले बताउनुभएको छ ।यस्तै भाठा मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले जनप्रतिनिधिको साथ र सहयोग हुने हो भने यस क्षेत्रलाई विकास गर्न सकिने र धार्मिक पर्यटनको आकर्षणको केन्द्रविन्दु बनाउन सकिने बताउनुभएको छ ।

 

Leave a Reply