सिकिद्र साह
सिम्रौनगढ,बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा १५ शैयाको नगर अस्पतालको उदघाटन भएको छ । नगर प्रमुख विजयशंकर यादवले शुक्रबार एक कार्यक्रमबीच नगर अस्पतालको उदघाटन गर्नुभएको हो । सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ७ मा संचालनमा आएको अस्पतालको नगर प्रमुख यादवले उदघाटन गर्नुभएको हो ।
वडा अध्यक्ष रमेशप्रसाद कुशवाहाको अध्यक्षतामा भएको अस्पताल उदघाटन कार्यक्रममा चिकित्सक जितेन्द्र यादवले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले नगरबासीको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै नगरपालिकाले नगरभित्रै सुविधा सम्पन्न अस्पताल संचालनमा ल्याएको बताउनुभयो । उहाँले अस्पताल माग गर्दै आफु संघीय र प्रदेश सरकारमा पटकपटक धाएको भएपनि सरकारले वास्ता नगरेको आरोप लगाउनुभयो । उहाँले नगरपालिकाको आफनै स्रोत साधन खर्चेर अस्पताल निर्माण गरेको बताउनुभयो । ‘पहिलेपहिले कुकुरले टोक्यो भने पनि उपचारको लागि कलैया पुग्नुपर्थ्यो, उहाँले भन्नुभयो, अस्पताल संचालनमा आएपछि अब गाउँमै बसेर सेवा लिन सकिने छ ।’
५ वटा आइसियु र १० वटा अक्सिजन बेड सुविधा रहेको उक्त अस्पतालमा नगरपालिकाका बासिन्दाहरुलाई जेनरल बेडमा दस प्रतिशत र ल्याबमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उदघाटन कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजिन्द्र साह, मनु यादव, वडा अध्यक्ष सुमितकुमार जयसवाल अरबिन्दकुमार यादव, खुसिलाल कुशवाहा दामोदरलाल जयसवाल, मन्जुर मिया अन्सारी तथा कार्यपालिका सदस्य ओमप्रकास ठाकुरलगायतको उपस्थिति रहेको थियो ।