कृष्ण मोहन साह
सेढवा,छठ पर्व समापन भएलगत्तै पर्साको ठोरी गाउँपालिकाका विभिन्न स्थानमा पिकनिक मनाउन आउनेहरुको भीड लाग्न थालेको छ ।सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको समापन भएको खुसीयालीमा पिकनिक मनाउन ठोरीमा घुइँचो लागेको हो । ठोरीको राईधारा, ठुटेखोला, रानीवन, सरस्वता खोला, रातोपहाड लगायतका पर्यटकीय स्थलमा पिकनिक मनाउने भीड देखिन थालेको छ ।नेपाल र भारतका विभिन्न स्थानबाट साना र ठूला सवारी साधनमा हजारौं मानिसहरु पिकनिकको लागि ठोरी आएका हुन ।पिकनिक खान आउनेहरुको सहजताको लागि निर्मल ठोरी उपभोक्ता समितिका पदाधिकारी, इलाका प्रहरी कार्यालय ठोरी र बि ओ पी ठोरीका सुरक्षाकर्मीको टोलीले सो क्षेत्रमा राती अबेरसम्म निगरानी बढाएको थियो । ठूलो संख्यामा आउने सर्वसाधारणको सुरक्षालाई ख्याल गरेर सुरक्षा प्रवन्ध मिलाइएको र निर्वाध रुपमा पिकनिक खाएर गन्तव्यतर्फ फर्किने गरेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । उहाँले यो अवधिमा कुनै प्रकारको अप्रिय घटना नभएको पनि बताउनुभयो ।नयाँ वर्षको दिनभन्दा पनि ठूलो संख्यामा आएर मानिसहरुले सोमवार पिकनिक खाएको बि ओ पी ठोरीका सशस्त्र प्रहरी निरीक्षक सीताराम कार्कीले बताउनुभयो । उहाँले २ दिनभित्र झण्डै एक लाखको संख्यामा मानिसहरु पिकनिक मनाउन ठोरी आएको जानकारी दिनुभयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय संघसंस्थाका प्रतिनिधिको उत्साहपूर्ण सहयोगमा पिकनिक मनाउन आएकाहरुर्को व्यवस्थापन गर्न सफल भएको पनि उहाँले बताउनुभयो ।स्थानीय होटल व्यवसायी दिनेश नेपालले पनि सोमवार उल्लेख संख्यामा मानिसहरु पिकनिक मनाउन ठोरी आएको बताउनुभयो । ठोरीमा थप पर्यटकीय पूर्वाधारहरुको विकास गर्नसके पिकनिक मनाउन आउनेहरुको संख्या निरन्तररुपमा वृद्धि हुनेसमेत नेपालको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here