वीरगञ्ज,भन्सार ऐनले एक सय रुपैयाभन्दा बढी मूल्यको सामान नेपाल ल्याउँदा अनिवार्य भन्सार काट्नुपर्ने व्यावस्था गरेपछि वीरगन्ज नाकामा भने भन्सार कर असुलीमा समस्या देखिएको छ ।भन्सार कार्यालयले एक सय रुपैया बराबरको समान ल्याउदा पनि भन्सार काटनुपर्ने नियम कार्यान्वयनको तयारी गरेपनि नेपाल भारतसँगको खुला सीमा र उपभोक्ता मूल्यमा पर्ने फरकले गर्दा ऐन कार्यान्वयनमा चुनौति देखिएको हो ।यसअघि एक हजार रुपैंयासम्मको सामान भारतको रक्सौलबाट ल्याउँदा अनिवार्य भन्सार काट्नुपर्ने व्यावस्था लागू गरिएको थियो । तर, त्यो व्यवस्था पनि कार्यान्वयन हुन सकेको थिएन ।अहिले एक सय रुपैंया भन्दाबढी सामानको भन्सार काट्नुपर्ने व्यावस्था गरिएपनि त्यसको कार्यान्वयन भने निकै जटिल देखिएको छ । यद्यपि वीरगञ्ज भन्सार कार्यालयले यसलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउने प्रयास भने गरिरहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताउनुभयो । उहाँले भन्सार कर असुलीमा पहिलेको भन्दा धेरै सुधार भएको बताउनुभयो ।नेपालको तुलनमा उपभोग्य वस्तुहरुमा भारतमा सस्तो हुने भएकोले नेपालबाट दैनिक हजारौ सर्वसाधारण उपभोग्य वस्तु खरिद गर्न भारतको रक्सौल जाने गरेका छन । घरायसी प्रयोजनको लागि ल्याउने सामानको पनि भन्सार काट्नुपर्ने व्यावस्थाले उपभोत्ताहरुलाई समस्या हुने आम बुझाइ रहेको छ । त्यसैले पनि भन्सार कार्यालयले यसलाई कडाई गर्नुभन्दा व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याउने प्रयास गरिरहेको प्रमुख भन्सार प्रशासक पन्थीको भनाइ छ ।वीरगञ्जका व्यापारीहरुले भने एकसय रुपैंयाभन्दा बढीको सामान भारतबाट ल्याउँदा भन्सार काट्नुपर्ने व्यावस्थाले उपभोक्तालाई समस्या नहोस भन्ने मात्रै चाहेको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव प्रेमचन्द गोयलले भन्सारको ऐनले व्यावस्था भए अनुसार गर्नु राम्रो भएपनि त्यसले उपभोत्ताहरुलाई चाहिँ दुःख दिन नहुने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘भन्सार काट्नुपर्ने कुरामा कुनै समस्या छैन । राम्रो हो । अवैध व्यापार रोक्नुपर्छ । तर, मुख्य नाकामा तस्करहरु जादैनन् । यहाँबाट जाने अथवा सामान ल्याउने भनेको घरायसी उपभोगको लागि मात्रै हो । सीमापारी रोटीबेटीको समेत सम्बन्ध छ । त्यसैले आफन्तको जाने आउने गर्दा केही न केही सामान लिएर आउने गर्छन उनीहरुको लागि यसले असहज हुनुहुदैन ।’

Leave a Reply