निजगढ,टाँगियाबस्तिमा दुई साताअघि स्थानीय एक किसानको १० वटा बाख्रा बाघले मारेपछि स्थानीय बासिन्दा त्रासित भएका छन । बस्ति नजिकैको जंगलमा बाघको गतिविधि बढेपछि सर्वसाधारण घाँसदाउराको लागि जंगल जान र साँझ बिहान घरबाहिर निस्कन पनि डराएका हुन । बाघकै त्रासमा बस्तिका किसानले केही दिनदेखि जंगलमा चौपाय चराउन छोडेका छन ।स्थानीय धनबहादुर थिङ्गले जंगलमा चराउन लगेको १० वटा बाख्रा दुई साताअघि बाघले आक्रमण गरेर मरेपछि गाउँमा त्रास फैलिएको हो । सो घटनापछि बस्ति नजिकैको जंगलमा बाघ बस्दै आएको स्थानीयले बताएका छन । स्थानीयलाई असुरक्षित पार्ने बाघ नियन्त्रण लिन सरकारले चासो नदेखाएको सर्वसाधारण असुरक्षित बनेको स्थानीय बासिन्दा एंवम जीतपुरसिमरा वडा नम्बर १६ की वडा सदस्य पबित्रा कार्की बताउनुहुन्छ । बस्ति निरक्षणको क्रममा आउनुभएका नगर प्रमुख मेयर राजन पौडेलले बाघले बाख्रा मारेर पीडित बनेको किसान परिवारमा राहतको लागि पहल गर्ने आश्वासन दिएको भएपनि अहिलेसम्म कुनै राहत नपाएको उहाँले बताउनुभयो ।यता स्थानीय अगुवा रमेश सापकोटाले भने सरकारले नै स्थानीयलाई जंगलमा ल्याएर अलपत्र पारेर राखेको र अहिले गाउँलेहरुले बाघ र हात्ती जस्ता जंगली जनावरको त्रास खेप्नु परेको बताउनुभयो । ३ महिनाअघि टाँगियाबस्तिकै ४५ वर्षिय डापन दर्लामी मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।०३२ सालदेखि बसोबास गर्दै आएको बस्तिमा हाल अंन्तर्राष्टिय विमानस्थलन निर्माणको लागि प्रस्ताव गरेको छ । विमानस्थल निर्माणको लागि सरकारले हालसम्म ३ करोड खर्च गरि सकेको भएपनि बस्ति व्यवस्थापन र स्थानानन्तरणको काम भने अघि बढन नसकेको सापकोटा बताउनुहुन्छ ।


















