निजगढ,निजगढको गौरीशंकर कलेजको क्याम्पस सभा स्थगित गर्न पत्राचार गरेपछि उच्च अदालत वीरगञ्जले जिल्ला प्रशासन कार्यालय कलैयासंग सभा स्थगित गर्नुपर्ने कारण मागेको छ ।साधारण सभाको माग गर्दै क्याम्पस सभाका सदस्य मानबादुर श्रेष्ठ र मनोज रेग्मीले दिएको निवेदनमा अदालतले जिल्ला प्रशासन कार्यालय कलैया र सभा रोक्न माग गर्ने स्थानीय राजनीतिक दलका प्रमुखहरुलाई लिखित रुपमा कारण पेस गर्न १५ दिनको म्याद दिएको हो ।नेपाली कांग्रेससहित स्थानीय ५ वटा राजनीतिक दलका प्रतिनिधिहरुको मागअनुसार जिल्ला प्रशासन कार्यालयले सभा रोक्न पत्राचार गरेपछि क्याम्पस संचालक समितिले जेष्ठ ३ गतेको लागि तयारी गरेको क्याम्पस सभा अन्तिम अवस्थामा रोकिएको थियो ।प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले हस्ताक्षर गरेर क्याम्पसमा पठाएको पत्रमा पूर्वनिर्धारित सभा स्थगित गरेर ७ दिनभित्र निजगढ नगरपालिका, बुद्धिजीवी, भद्रभलादमी र क्याम्पसका अभिभावकहरुको उपस्थितिमा छलफल गरी साधारण सभाको नयाँ मिति तय गर्न भनिएको थियो । तर नगरपालिकाले सहमति गर्न भनेर बोलाएको सर्वदलीय बैठकमा साधारण सभा आयोजना गर्ने बारेमा कुनै निर्णय हुन नसकेपछि क्याम्पस सभा अनिश्चित बनेको हो ।क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले भने क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तरगतको एउटा स्वायत्त र प्राज्ञिक निकाय भएकोले अन्य कुनै क्षेत्रबाट हस्तक्षप गर्न नमिल्ने र अदालतले आफूहरुलाई न्याय दिने बताउनुभएको छ ।



















