निजगढ,निजगढ सार्वजनिक सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बाराका स्थानीय तहका प्रमुखहरुसंग विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ ।

समितिले बुधवार जिल्लाको कोल्हबी नगरप्रमुख रामप्रसाद चौधरी, सिम्रौनगढ नगरप्रमुख किशोरीप्रसाद कलवार, महागढीमाई नगरप्रमुख उपेन्द्रप्रसाद यादव, पचरौता नगरप्रमुख जालन्धर सिंह, करैयामाई गाउँपालिका अध्यक्ष शम्भु यादव, बारागढीका अध्यक्ष अशोक जैसवाल, सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादव, देवताल गाउँपालिका अध्यक्ष उदयचन्द्र यादव र आदर्शकोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदप्रसाद साहलाई पालिका कार्यलयमा भेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सहयोग पुर्याउने उद्देश्यले पालिका सभाबाट विशेष प्रस्ताव पास गर्न आग्रह गरेको हो ।

सरोकार समितिले बुझाएको आग्रह पत्रमा बारा जिल्लाको टाँगियावस्तिमा निर्माण प्रकृयामा रहेको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको २०५१ सालमा प्रारम्भिक सर्वेक्षण भई २०५६ सालमा निर्णय भएको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको डिपीआर, जग्गा प्राप्ति तथा वातावरणीय प्रभाव मूल्यांकन कार्य पुरा गरेर मुआब्जा वितरण प्रकिृया समेत अन्तिम चरणमा पुगिसकेको राष्ट्रिय गौरवको परियोजना भएको बताइएको छ ।

समितिका संयोजक एकबहादुर श्रेष्ठले हस्ताक्षर गरेर बुझाइएको पत्रमा आयोजना निर्माण स्थलको रुपमा रहेको टाँगियाबस्तिको व्यवस्थापन गर्न सरकारले जग्गा छनौट गरेर कानुनी र विधिगत रुपमा बस्ति स्थानान्तरणको लागि काम सुरु गर्ने चरणमा पुगिसकेको तथा जग्गा प्राप्ति, आयोजना क्षेत्रको घेराबारा अनि नदी नियन्त्रणको काम समेत सम्पन्न भैसकेको जनाइएको छ । यस्तो अवस्थामा सम्मानित सर्वोच्च अदालतको मिति २०७९।२।१२ गतेको निर्णय अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने कार्य भएको र सर्वोच्च अदालतको निर्णयबाट विमानस्थल निर्माण कार्य अहिले जोखिममा भन्दै विमानस्थल निर्माण गर्न बारा जिल्लाबासी नागरिकहरु थप सक्रिय र एकतावद्ध भएर लाग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै पालिकासभा÷बैठकबाट अदालतको निर्णय पुनरावलोकन गराएर वा अर्को कुनै विकल्पमार्फत अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकारलाई सहयोग पुर्याउने गरी विशेष प्रस्ताव पारित गर्न आग्रह गरिएको छ ।

आग्रह पत्र बुझाउन संयोजक श्रेष्ठको नेतृत्वमा विनोद भारतीसहितका समितिका सदस्यहरु पालिका कार्यालयमा पुग्नुभएको थियो । समितिका सदस्य भारतीका अनुसार पालिका प्रमुखहरुले विमानस्थल निर्माण गर्न सबै खालको सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको जानकारी दिनुयो । उहाँका अनुसार पत्र बुझाउन बाँकी जिल्लाका अन्य पालिकाका प्रमुखहरुलाई पनि भेटर विशेष प्रस्ताव पास गर्न आग्रह गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here