जति नै घोकन्ते शिक्षाको विरोध भएपनि फेरि नेपालमा यसैको महत्व छ । कुरा गरौं, विद्यालयहको आधारभूत तह (कक्षा ८) को ।यो परीक्षामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयले लज्जास्पद नतिजा ल्याएको पाइएको छ । उपमहानगरपालिकाको कार्यालयले बिहीबार सार्वजनिक गरेको विद्यालयगत परिणाममा २९ मध्ये २५ विद्यालयको नतिजा लज्जास्पद छ र यसले शिक्षाको हालको अवस्थाबारे पनि झल्काएको छ ।
नतिजाअनुसार ग्रेड प्राप्त गर्ने विद्यार्थी संख्यामा चार वटा विद्यालयको नतिजा शून्य छ । थानी आधारभूत विद्यालय बिरेदमार, आदर्श आधारभूत विद्यालय नहरक्याम्प, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र नेपाल राष्ट्रिय मौवादेवी माध्यमिक विद्यालयका सबै विद्यार्थी ग्रेड प्राप्त गर्न असफल भएका छन् ।

यति मात्र होइन, अन्य विद्यालयको नतिजा पनि निकै कमजोर छ । ११ वटा विद्यालयले १० प्रतिशत नतिजा समेत कटाउन नसकेको पाइएको छ । चार विद्यालयको नतिजा १० देखि १६ प्रतिशतको बीचमै छ । २५ विद्यालयले ५० प्रतिशत नतिजा कटाएका छैनन् भने चार वटा विद्यालयले मात्रै ५० प्रतिशतभन्दा बढी नतिजा प्राप्त गरेका छन् ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरले २.६ प्रतिशत, नेपाल राष्ट्रिय आधारभूत विद्यालय चकरीले ३ प्रतिशत, नेपाल राष्ट्रिय आधारभूत विद्यालय कञ्चनपुरले ४ प्रतिशत, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय टांगियाबस्तीले ४.९ प्रतिशत, जनता माध्यमिक विद्यालय रजघट्टाले ६.३ प्रतिशत, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाले ७.४ प्रतिशत र नेपाल राष्ट्रिय आधारभूत विद्यालय नगौलले ९.५ प्रतिशत नतिजा ल्याएको छ ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय नरबस्तीले १० प्रतिशत, नेपाल माध्यमिक विद्यालय अमलेखगञ्जले १३.६, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहले १५.२ र नेपाल राष्ट्रिय आधारभूत विद्यालय खैर्वाले १४.३ प्रतिशत नतिजा ल्याएका छन् भने सबैभन्दा बढी १२८ जना विद्यार्थी संख्या रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको नतिजा ३२ प्रतिशत, ९५ जना विद्यार्थी रहेको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको नतिजा २३.२ प्रतिशत, ९५ जना विद्यार्थी रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाको नतिजा २२.१ प्रतिशत छ । यो भनेको शिक्षामा ब्यापक सुधार आवश्यक देखिन्छ । तर नीति खोइ ?


















