कलैया,नेपाली काग्रेस बाराका सचिव भईयाराम यादव र एकीकृत समाजवादी बाराका उपसचिव धु्रब यादवलाई प्रहरीले कुटपिट गरेको घट्नाको छानबिन गर्न प्रहरीले पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनाको छानविन गर्न प्रहरी बरिष्ठ उपरीक्षक प्रविण पोख्रेलको संयोजकत्वमा प्रहरी निरीक्षक सन्जिव योन्जन, बरिष्ठ प्रहरी नायब निरीक्षक सन्जिब साह, प्रहरी सहायक हवल्दार बिबेकानन्द झा र प्रहरी जवान सपनाराज कोईराला सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।कुटपिटको घटना सार्वजनिक भएपछि बाराको कलैयामा एक सातादेखि दोषि प्रहरीमाथि कारबाहीको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ । कुटपिटमा संलग्न भएको आरोपमा प्रदर्शनकारीहरुले जिल्ला प्रहरी कार्यालय बाराका तत्कालिन प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन गर्नुपर्ने माग राखेका छन । घटनापछि दुबै प्रहरी अधिकृतको मधेस प्रदेश प्रहरी कार्यालयले सरुवा गरिसकेको छ ।कुटपिटबाट घाईते कांग्रेस सचिव यादबको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको छ । उहाँको वीरगञ्ज स्पर्शमा उपचार हुदै आएको छ ।
















