वीरगञ्ज,पर्सा प्रहरीले वीरगञ्जबाट १९ राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमार रहेका छन ।आइतवार राति वीरगञ्ज महानगरपालिका– ८ भानुचोकमा बसपार्कबाट खटेको प्रहरीले मुरारीलाई चेकजाँच गर्दा उनी भागेका थिए । पिछा गर्ने क्रममा उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रभु अस्पताल नजिकैबाट पक्राउ गरेको थियो ।मुरारीले बोकेको झोलाबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोली बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । ‘बसपार्कमा सामान चेकजाँच गर्नेक्रममा भागेका थिए, पिछा गर्ने क्रममा पक्राउ गर्दा गोली भेटिएको हो, उहाँले भन्नुभयो । पक्राउ परेका उनलाई प्रहरी हिरासतमा रखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

















