काठमाडौँ,गत आर्थिक वर्ष ०७९-८० मा काठमाडौं÷तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) विकास खर्चमा कमजोर देखिएको छ । यस आयोजनाका लागि गत आर्थिक वर्षमा पुँजीगततर्फ २९ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ छुट्याइएकोमा आर्थिक वर्षको असार मसान्तसम्म १४ अर्ब ९४ करोड १८ लाख रुपैयाँ मात्र खर्च भएको छ । अर्थात् विनियोजित पुँजीगत बजेटको ४९.६२ प्रतिशत खर्च भएको हो ।द्रुतमार्गमा नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मेवारी लिएको छ । गत आर्थिक वर्षको असारसम्म ८, ९ र १० नम्बर प्याकेजको ठेक्का गर्ने तयारीमा रहेको सेनाले त्यसअनुसार ठेक्का गर्न नसक्दा बजेट खर्च कम भएको जनाएको छ । ६ नम्बर प्याकेजको ठेक्का भएर कार्यादेश दिन ढिला हुँदा उक्त प्याकेजमा त्यसअनुसारको बजेट खर्च हुन नसकेको सैनिक प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले बताउनुभएको छ ।‘३ वटा प्याकेजको ठेक्का गत आर्थिक वर्षमै गर्ने योजना थियो, ठेक्का आह्वान गरे पनि प्राविधिक मूल्यांकनमा कोही पनि निर्माण कम्पनी छानिन सकेनन्,’ उनले भने, ‘जसले गर्दा पुनः उक्त खण्डमा ठेक्का आह्वान गरिएको छ । गत आर्थिक वर्षमै ठेक्का सम्झौता नहुँदा सोचेअनुरूप खर्च हुन सकेन ।’ निर्माण सुरु भएको ६ वर्षमा यस आयोजनाको भौतिक प्रगति २५.५४ प्रतिशत छ ।त्यसैगरी देशका अन्य केही ठूला आयोजना पनि विकास खर्च गर्नमा कमजोर देखिएका छन । बढी बजेट पाएकै आयोजनामा यस्तो समस्या देखिएको हो । खर्च कम गर्ने अर्को आयोजनामा नागढुंगा सुरुङमार्ग पनि हो । यस आयोजनाका लागि गत आर्थिक वर्षमा ५ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । तर आयोजनाले असार मसान्तसम्म विनियोजित पुँजीगत बजेटको ४३.२५ प्रतिशत मात्र खर्चिएको छ । अर्थात् आयोजनाले २ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ मात्र खर्च गरेको छ । मुआब्जाको समस्या अझै टुंग्याउन नसकेको आयोजनाले विनियोजित बजेट खर्च पनि ५० प्रतिशत कटाउन सकेन ।नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको चार वर्षमा २.१६३ किमि खनिएको छ । मुख्य सुरुङको दूरी भने २.६८८ किमि हो । अब ५२५ मिटर खन्न बाँकी छ । आपत्कालीन सुरुङ पनि २.५०१ किमि खनिसकिएको छ, जुन सुरुङको कुल दूरी २.५५७ किमि हो । आपत्कालीन सुरुङ खन्न ५६ मिटर मात्र बाँकी छ । निर्माणमा कुनै समस्या नआए ०८१ पुसमा सुरुङबाट यातायात चल्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको दाबी छ । समग्रमा सुरुङ खन्ने काम ८९.२० प्रतिशत सकिइसकेको छ ।नारायणगढ–बुटवल सडक आयोजनाले पनि खर्च कम गरेको छ । यस सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का गरिएको हो । दुवै खण्डका लागि गत आर्थिक वर्षमा पुँजीगततर्फ ७ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ विनियोजन भएको थियो । यसमा ३६.५२ प्रतिशत अर्थात् २ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ खर्च भएको छ । उक्त सडक विस्तार ठेक्काको म्याद भदौ ११ मा सकिँदै छ । तर अहिलेसम्म भौतिक प्रगति ४० प्रतिशत मात्र छ ।

Leave a Reply