वीरगञ्ज,काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्सा जिल्लाका १४ वटै पालिकाका प्रमुखहरू एकजुट भएका छन् ।सरकारले यही वैशाख २ गतेदेखि देशभर सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु गर्ने निर्णय गरे पनि शिक्षकहरूको जारी आन्दोलनले यसलाई असर पु¥याएको छ ।

यस विषम परिस्थितिलाई मध्यनजर गर्दै पर्साका पालिका प्रमुखहरूले वैशाख ८ गतेदेखि १५ गतेसम्म जिल्लाभर विशेष भर्ना अभियान सञ्चालन गर्ने भएका छन् । आइतवार वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको जिल्लाका पालिका प्रमुखहरूको बैठकले तत्काल भर्ना अभियान सञ्चालन गर्न सम्बन्धित पालिकाका विद्यालयहरूलाई निर्देशन दिने सर्वसम्मत निर्णय गरेको हो ।

बैठकमा सहभागी पालिका प्रमुखहरूले जस्तोसुकै आपत्, विपत् र संकटको अवस्थामा पनि विद्यार्थीहरूको शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । शिक्षकहरू विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रँदा विद्यार्थीहरूको पठनपाठनमा बाधा पुगेको भन्दै उनीहरूले तत्काल भर्ना अभियानलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नेपालको संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको स्मरण गराउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी भर्ना अभियानलाई घरघरसम्म पु¥याउन सबै पालिका प्रमुखहरू एकमत भएको बताउनुभएको छ । उहाँले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको अवस्थामा यसका प्रमुख कार्यान्वयनकर्ता नै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिनु उचित नभएको धारणा व्यक्त गर्नुभएको छ ।

आन्दोलनका कार्यक्रमहरूलाई परिमार्जन गरी विद्यालय सञ्चालन हुने वातावरण बनाउन आग्रह गर्दै उनले सामुदायिक विद्यालय विद्यार्थीविहीन हुन नदिन सबैलाई सचेत गराएका छन् ।बैठकमा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, पोखरिया नगरपालिकाका प्रमुख प्रधुम्न चौहान, बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन सा तेली, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योती देवी चौरसिया, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउत लगायत पालिकाका शिक्षा प्रमुखहरूको उपस्थिति थियो ।

Leave a Reply