पुष्पराज खतिवडा
मन्हर्वा – कलैया उपमहानगरपालिका २१ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड भोडहाले धितो रोक्का राखेको जमिन वदनियतपूर्ण फुकुवा भई विक्रि भएको छ । वद्मासी गर्ने मालपोत कार्यालय बारा र ऋणी जग्गाधनीका विरुद्ध संस्थाले कार्वाहीका लागि संवन्धीत निकायमा मुद्दा दर्ता गर्ने जनाएको छ ।
स्थानिय हरिन्दर महरा चमारले संस्थामा धितो राखेको भोडहा ९ को ९६३ नं. कित्ताको एककठ्ठा जमिन संस्थाको पत्र विनै फुकुवा गरी विक्रि गरेकाले कानुनी प्रकृया सुरु गरिन लागेको संस्थाका अध्यक्ष बिन्दासिंहले बताए । चमारले संस्थाको कर्जा नै नतिरि मालपोत कर्मचारीको मिलेमत्तो फुकुवा गरी विक्रि गरेको अध्यक्ष सिंहको भनाई छ ।
संस्थाको सिफारिस विनानै मालपोत बाराले फुकुवा गरि बद्मासी गरेको छ । चमारलाई संस्थाले सोही जमिन धितो रोक्का राखी ३६ हजार रकम कर्जा दिएको थियो । जमिन फुकुवा गरि बेचेका चमारले संस्थालाई साँवा र ब्याज गरी ४५हजार कर्जा तीर्न बाँकी छ । कर्जा हुँदा हुँदै मलपोत कार्यालयले संस्थाको रोक्का जमिन फुकुवा गरिदिएर बद्मासी गर्दा संस्था मारमा परेको संस्थाका प्रबन्धक नगीना प्रसाद साहले बताए । जग्गाधनी महराले मालपोतका कर्मचारीलाई प्रभावमा पारि ०६७ पौष ११ मै स्थानिय जमुना साह तेलीलाई जमिन बेचे । जमिन बेचेपछी संस्थाको कर्जा तिरेका छैनन्, साहले भने ।
महरा चमारबाट उक्त जमिन तेलीपछी ०६८ फागुन १४मा राजालाल प्रसाद साहको नाममा नामसारी भएको मालपोत कार्यालय बाराले जनाएको छ ।
संस्थाले ०६५ जेष्ठ १० गते २५२ नं. पत्रबाट उक्त जमिन रोक्काका लागि पत्राचार गरेको थियो । मालपोत कार्यालय बाराले २०६५ जेष्ठ १३ गतेका दिन उक्त जमिन रोक्का गरी सोको जानकारी ५२०४ नं.चलानीको पत्रबाट संस्था गराएको थियो । उक्त पत्र संस्थासँग शुरक्षीत रहेको छ ।
मालपोत कार्यालयले रोक्का गर्दा दिएको जानकारी पत्रको सक्कल प्रती सहित संस्थाले जमिन फुकुवा गरिदिनु भन्ने पत्रबाट मात्रै फुकुवा गर्ने गर्दछ । तर चमारको जमिन भने मालपोत कर्मचारीले रोक्का प्रवाहनै नगरी फुकुवा गरी संस्थालाई डुवाउने काम भएको अध्यक्ष सिंहले बताए । हामी जग्गाधनी चमार र मालपोत कार्यालयका विरद्ध कानुनी प्रकृयामा जान्छौं,उनले भने ।
अली अगाडीको कुरा रहेछ । जे भएपनि वास्वीक हो भने गलत भएकै हो । तरपनि एकपटक सो विषयमा अध्यायन गरी संस्थालाई सहयोग गर्न तयार छु । गल्ती भएकै रहेछ भने संलग्नको पहिचान गरी कार्वाहीका लागि पहल गर्ने मालपोत कार्यालय बाराका प्रमुख रामकृष्ण उप्रेतीले बताए ।