ठोरी,ठोरी गाउँपालिकामा लागूऔषध गाँजा लगायत सामग्रीको व्यापक तस्करी भइरहेको पाइएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित ब्रह्मनगर (नयाँ बस्ती) बाट गाँजालगायत सामग्रीको तस्करी बढेको स्थानीयले बताएका छन् । स्थानीय प्रशासन कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञा बावजुद पनि केहि दिनदेखि नियमित रुपमा भारतीयहरु नेपाल प्रवेश गरेर लागूऔषध कारोबारीसँग गाँजा लिएर जाने गरेको प्रत्यक्षदर्शी स्थानीय बताउँछन् ।

लागूऔषध तस्करहरुसँग स्थानीयको समय(समयमा भिडन्तसमेत हुने गरेको पाइएको छ । केहिदिन अघि मात्रै भारतबाट प्रवेश गरेका तस्करहरुसँग स्थानीय युवाहरुको झडप परेको थियो । यता, शान्ति सुरक्षा कायम गर्नका लागि खटाईएको नेपाल प्रहरी र सिमा सुरक्षाका लागि खटाइएको सशस्त्र प्रहरीले आफुलाई यस विषयमा कुनै जानकारी नभएको बताउँदै अन्यौलता प्रकट गरेको छ । उनीहरु आफु निरन्तर गस्तीमा रहेको बताउँदै लागूऔषध कारोबारी, तस्करहरु भारतबाट नेपाल प्रवेश नगरेको दावी गरेका छन । प्रहरी अनुसार तस्करी नियन्त्रणमा छ । स्थानीय अनुसार सीमाबाट आएका भारतीय लागूऔषध कारोबारसँग स्थानीय युवाहरुको भिडन्त भएको छ । भिडन्तमा परेर ब्रम्हनगरका एक युवक घाइतेसमेत भएका थिए । स्थानीयले बरामद गरेको गाँजाको पोका र मोटरसाइकल प्रहरीलाई जिम्मा लगाइएको छ । बरामद गरिएको गाँजा र मोटरसाइकल प्रहरी चौकी बुद्धनगरमा राखिएको र थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

Leave a Reply