सिमरा,सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको कार्यालयले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
सिमरा कलेजमा स्नातक तथा स्नाकोत्तर तहको अध्ययन गर्न इच्छुक कार्यालयका कर्मचारी र खानेपानी समितिका उपभोक्ताको सन्तानसंग कार्यालयले आवदेन माग गरेको हो ।प्रत्येक वर्ष पाँच जना विद्यार्थीलाई छात्रवृत्ति उलपब्ध गराउने गरी खानेपानीको कार्यालयले सिमरा कलेजसंग दुई वर्षअघि सम्झौता गरेको थियो । सम्झौता अनुसार समितिले पाँच–पाँच जना गरी दुई वर्षमा १० जनालाई छात्रवृत्तिका लागि सिफारिस गरेको थियो ।
सो सम्झौतालाई निरन्तरता दिदै समितिले २०८२ साउन २ गते शुक्रवारदेखि लागू हुने गरी १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ । कार्यालयले प्राप्त आवेदन मध्येबाट कर्मचारीको परिवारका दुई र उपभोक्ताका परिवारको तीन गरी पाँच जनाको नाम छात्रवृत्तिका लागि सिमरा कलेजलाई सिफारिस गर्नेछ ।
छात्रवृत्तिका लागि कर्मचारी र उपभोक्ताको परिवारले आवेदन दिन सक्नेछन् । इच्छुक विद्यार्थीले स्नातक तहका लागि निवेदनसहित एसईई र कक्षा १२ उतीर्ण गरेको प्रमाणपत्र, स्नातकोत्तर तहका विद्यार्थीले स्नातक तह उतिर्ण गरेको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, सिमरा कलेजको सिफारिस पत्रसहित आवेदन दिनुपर्ने समितिका अध्यक्ष कासिम हुसेनद्धारा जारी सूचनामा उल्लेख छ ।


















