बिदुर खडका
डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले सहकारीहरु मर्जर र विभाजन गरेर नगरको दायरमा ल्याउने जनाउनुभएको छ ।साना किसान कृषि सहकारी संस्था सिमराको ८औं स्थापना दिवसको अवसरमा पौडेलले आइतवारसो बताउनुभएको हो ।पौडेलले नगरले बनाएको नियम कानुनलाई चौतर्फी रुपमा संगठित भई शिक्षित व्यक्तिहरूबाटै असफल बनाउने जमात बढेकोप्रति दुःख व्यक्त गर्नुभयो ।नगरको सेवाप्रति जनता खुसी रहे पनि केही स्वार्थी मानिसहरु नगरको विरोधमा लागेको उहाँको भनाइ छ ।१६ करोडको लगानी रहेको कृषि सहकारी सिमरामा डुमरवाना, अमलेखगंञ्ज, जीतपुर क्षेत्रका १९ सय ८१ सेयर सदस्य रहेका छन् ।साना किसान सहकारी डुमरवानाबाट असन्तुष्ट रहेका महिला सदस्यहरुले स्थापना गरेको सहकारीले छोटो समयमा ठूलो प्रगति गरेकोमा वक्ताहरुले शुभकामना दिनुभएको थियो ।शुभकामना दिनेहरुमा जीतपुरसिमरा उपमहानगरपालिका वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, सहकारी अभियान्ताहरु शिव अधिकारी, किशोर शर्मा, शिला खनाललगायत रहनु भएको छ ।कुलोत्तम पोखरेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कमला रिमाल अधिकारीले गर्नुभएको थियो ।



















