दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,बारागढीमा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको प्रयासमा काठमाडौंस्थित भारतीय राजदूतावासले गाउँपालिकालाई उपहार प्रदान गरेपछि गाउँमा एम्बुलेन्स सेवा सञ्चालन हुने भएको हो ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा बारागढी गाउँपालिकालाई उक्त एम्बुलेन्स प्रदान गर्नुभएको हो । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारको ध्यानमा राख्दै भारत सरकारले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो ।शिक्षा, स्वास्थ्य र पर्याप्त सडक सुविधाको अभाव झेल्दैआइरहेका बारागढी गाउँपालिकावासी जनतालाई स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न एम्बुलेन्स सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष जयसवालले बताउनुभयो । घन्टौसम्म बिरामी बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता अन्त्य गर्दै बिरामीलाई समयमै अस्पताल पुर्याउन सकियोस् भन्ने उदेश्यले गाउँपालिका अध्यक्ष जयसवालको निरन्तरको प्रयासपछि पालिकामा एम्बुलेन्स सेवा सुरु हुनेभएको हो ।दूतावासले बारागढी गाउँपालिका लगायत देशभर विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासको लागि प्राथमिकतामा राखेर भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।सन् १९९४ यता भारतले हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ ।

Leave a Reply