फागुन २१ गतेको लागि घोषणा भएको चुनाव हुन्छ कि हुन्न भन्ने विभिन्न आशंकाहरु मंगलबारबाट संभवतः तोडिएको छ । मंगलबार देशभर उम्मेदवारहरुको मनोनयनपत्र दर्ताको काम सकिएपछि अब मुलु्क चुनावमय भएको छ ।
देशभरको १ सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले लगभग शान्तिपूर्ण रुपमा नै उम्मेदवारी दिएका छन् । झापामा सामान्य विवाद बाहेक देशभर शान्तिपूर्ण मनोनयन दर्ता हुनुले चुनावमय देश भएको भन्न सकिन्छ र अब चुनावको माहौलमा देश गएको छ । अब देशमा ठूलै विपत्ति नआए २१ फागुनमा चुनाव हुन्छ नै ।
यसपालिको चुनाव नियमित भने होइन । नियम अनुसार त अझै कम्तीमा दुई बर्ष जति चुनावको समय आउन बाँकी थियो तर गत भदौमा भएको नव युवाको आन्दोलनले चुनावलाई अगाडि ल्याइ दिएको हो र मुलुक जवरजस्त चुनावमा गएको हो । यो चुनाव अघिल्लाभन्दा अलिक पृथक पनि छ । यसपालि प्राय सबै दलहरुबाट धेरै युवाहरु चुनावी मैदानमा छन् भने अर्को दलहरुबीच चुनावी गठबन्धन पनि छैन । यसअघिका दुईवटा संसदीय चुनावमा दलहरुबीचमा गठबन्धन भएका थिए ।
तर, अहिले त्यो अवस्था छैन । अहिले सबै दल आफ्नै सुरमा चुनावी मैदानमा उत्रिएका कारण कसले कसरी कहाँ जित्छन् भन्ने. कुरा पनि यसपाली चासो सबैलाई छ । केही निर्वाचन क्षेत्र विशेष चासोमा रहेको भएपनि देशभरको चुनाव यसपालि अलिक रोचक नै छ । त्यसैले पनि मंगलबारको मनोनयन दर्ताले चुनावको उत्साह देखाएको छ र अब शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भयो भने त्यो पनि उपलब्धी नै हुनेछ । मनोनयनपत्र दर्ता कार्यक्रम शान्तिपूर्ण भएको छ, यो राम्रो पक्ष हो ।

















