काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले सङ्घीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।काठमाण्डौ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर हिजो जनकपुर पुगेका नेता शाहले आज आयोजित परिवर्तन उद्घोष सभामा प्रदेश संरचना बलियो बनाउनुपर्ने बताउनुभएको हो ।रास्वपालाई सङ्घीयताप्रतिको धारणा के हो भनेर काठमाण्डौमा सोधिने गरेको भन्दै उहाँले वीरगञ्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाण्डौ जानुपर्ने बाध्यता अन्त्य गरे मात्र प्रदेश बलियो हुने बताउनुभयो ।
शाहले भन्नुभयो, ‘काठमाण्डौ अधिकार माग्न हैन, पशुपति र स्वयम्भूनाथ घुम्न जाने हो ।’
शाहले आफू भाषण भन्दा काम गर्ने मान्छे भएको पनि बताउनुभएको छ ।
रास्वपाले सोमबार जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले भन्नुभयो, ‘म काम गर्ने मान्छे हुँ, भाषण होइन । काम गरेको हेर्न चाहनुहुन्छ ? ।’उहाँले आफूलाई काठमाडौंका जनताले काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित गरेपछि काम गरेर देखाएको चर्चा गर्दै भन्नुभयो, ‘काठमाडौंबासीले मेरो काम देखिसकेका छन् । अब यहाँहरूलाई पनि काम गरेर देखाउने छु ?’
त्यसैगरी शाहले आफू ४ वर्षसम्म काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि जनताका समस्या समाधान गर्न नसकेर मुकदर्शक बन्नुपरेको बताउनुभएको छ ।
माइतीघर मण्डलामा उखु किसानदेखि मिटरब्याज पीडितसम्मको आन्दोलन हुँदा पनि मुकदर्शक बनेर बस्नुपरेको उहाँको भनाई थियो ।‘म करिब ४ वर्ष काठमाडौंको मेयरको रुपमा बसेँ । कोही मान्छेको भेट पनि गरिनँ । दैनिक माइतीघरमा मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो । हामी मुकदर्शक भएर बस्नुपरेको थियो,’ मेयर बालेनले भन्नुभयो ।रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन झापा– ५ बाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनसहितका नेताहरूको उपस्थितिमा रास्वपाले मधेश केन्द्रित सभा आयोजना गरेको हो ।
सभामा आक्रामक भाषण गरेका रास्वपा नेता अमरेशकुमार सिंहले मधेशीले प्रधानमन्त्री बन्ने अवसर आएको दाबी गर्नुभयो । यसअघि स्वतन्त्र सांसद रहेका सिंह आजै रास्वपा प्रवेश गर्नुभएको हो
अब बालेनले देश बनाउँछ : रवि लामिछाने
काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेनसँग भेट भएपछि आफूलाई अब देश बन्छ भन्ने विश्वास पैदा भएको बताउनुभएको छ ।रास्वपाले जनकपुरधाममा गरेको चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले बालेनसँगको भेटमा पाँच मिनेटभित्रै आफूहरू सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको बताउनुभयो ।
‘बालेनसँग भेट भएको पाँच मिनेटै थाहा थियो हामी सँगै हिँड्न सक्छौं । वार्ता ५ मिनेटमै सकिएको हो, बाँकी समय त एकअर्कालाई चिन्नमा खर्च गरेका थियौं,’ उनले भने, ‘मलाई त्यही दिन विश्वास भएको थियो बालेनले देश बनाउँछ ।’
बालेनसँगको पहिलो भेटपछि घर पुगेर आफ्नी स्वर्गीय आमाको फोटोसँग कुरा गर्दै आफूले अब देश बालेनले बनाउँछ भन्ने विश्वास व्यक्त गरेको उहाँले सुनाउनुभयो ।
‘बालेनसँगको पहिलो भेटपछि घर गएर मैले मेरी स्वर्गीय आमाको फोटोसँग कुरा गरेँ । मेरी श्रीमती साक्षी थिइन् । मैले भने, ‘आमा अब देश बालेनले बनाउँछ । हाम्रा सपना बालेनले पूरा गर्छ,’ लामिछानेले भन्नुभयो, ‘मलाई बालेनसँगको पहिलो भेटमै यो विश्वास पैदा भएको थियो ।’उहाँले आफू जेल नै जानु परे पनि कुनै चिन्ता नलागेको पनि बताउनुभयो ।‘बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टमार भागेको सरकारले मलाई मुद्दैमुद्दा लगाएको छ । म जेल जान पनि सक्छु,’ उहाँले भन्नुभयो, ‘तर मलाई अब चिन्ता छैन । किनभने, हामीसँग बालेन छ । यो देश बनाउन बालेन आएको छ । बालेनले हामीमाथि भएका सबै अन्यायको हिसाव लिनेछ ।’


















