निजगढ,दोस्रो जनआन्दोलनका सहिद हिरालाल गौतमको स्मृतिमा शनिबार निजगढ नगरपालिका वडा नम्बर ४ स्थित हिरालाल पार्कमा स्मृति सभाको आयोजना गरिएको छ । पार्कमा रहेको सहिद गौतमको शालिकमा माल्यार्णपछि सभा आयोजना गरिएको हो । सहिद मुखलाल स्मृति प्रतिठानको आयोजनामा भएको सो कार्यक्रममा नेकपा एमालेका नेता एंव खेलकुद तथा युवा पुर्व मन्त्री पुरुषोत्तम पौडेल, नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य एंव हिरालाल स्मृति प्रतिष्ठान निजगढका अध्यक्ष एकबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता रवि दङ्गाल, एमाले जिल्ला कमिटी सदस्य दुर्गा कोइराला, निजगढ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष थलप्रसाद गौतम, वडा नम्बर ४ का अध्यक्ष जयराम कुवरले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै नेता पौडेलले सहिद कुनै पार्टी विशेषको नहुने भन्दै सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले हिरालाल गौतम जस्ताको वलिदानीबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले देश र जनताको मुक्ति र प्रगतिको लागि ज्यान दिने सहिदको सबैले सम्मान गर्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा सहिद पत्नी गायत्री गौतमलगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, राजनितिक दलका कार्यकर्ता र सर्वसाधारणकोसमेत उपस्थिति रहेको थियो ।
मुखलाल स्मृति प्रतिष्ठानका सदस्य सुर्दशन कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका कार्यकर्ता र स्थानीय सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । निजगढ नगरपालिका वडा नम्बर ५ निवासी गौतमको आन्दोलनमा सहभागी हुने क्रममा निजगढस्थित पुर्वपश्चिम राजमार्गको शहिद चोकमा सुरक्षाकर्मीको गोली लागेर ०६४ साल वैशाख १२ गते निधन भएको थियो ।
यसैबीच नेकपाका नेता पौडेलले सोही कार्यक्रममा स्वर्गिय पिता र माताको नाममा “टंकनाथ – रत्नकुमारी स्मृति अक्षय कोष” को घोषणा गर्नुभएको छ । मुखलाल स्मृति प्रतिष्ठानमार्फत संचालन हुने सो कोषको लागि पौडेलसहित उहाँ ४ भाइले ४ लाख रकम दिने घोषणा गर्नुभएको हो । अक्षयकोषको रकमबाट निजगढस्थित गौरीशंकर क्याम्पस र निजगढ नगरपालिकाभित्रका साुमदायिक विद्यालय अन्तरगत कक्षा १२ को अन्तिम परीक्षामा सबैभन्दा बढी अंक प्राप्त गर्ने १÷१ जना गरी २ जनालाई ‘जेहेन्दार विद्यार्थी पुरस्कार ’ र बारा जिल्लाभरिमा विभिन्न विधाका प्रतिभाशाली १ जनालाई ‘नव प्रतिभा सम्मान’ गरी जम्मा ३ जनालाई १०÷१० हजार राशीको पुरस्कार र सम्मान प्रदान गर्ने बताइएको छ । हरेक वर्ष वैशाख ४ गते पर्ने सहिद गौतमको स्मृति कार्यक्रममा सो रकम वितरण गरिने जानकारी दिइएको छ ।