कृष्ण मोहन साह
सेढवा,पर्साको जगरनाथपुर गाउँपालिकाले कृषकलाई रोटाभेटर र मोटर पम्प वितरण गरेको छ ।जगरनाथपुर गाउँपालिकाद्वारा सञ्चालित धान उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकहरूलाई कृषि सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको कृषि शाखाबाट वडा न १ देखि ६ सम्मका १० जना कृषकहरूलाई रोटाभेटर र ७१ जना कृषकलाई कृषि मोटर पम्प वितरण गरिएको जानकारी दिनुभयो ।गाउँपालिका कार्यपालिकाको कार्यालयमा बिहीवार एक कार्यक्रमको बीच गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले धान उत्पादन प्रवद्र्धन कार्यक्रम अन्तर्गत छनौटमा परेका कृषकहरूलाई रोटाभेटर र मोटर वितरण गर्नु भएको हो ।कृषि कार्यमा सहजताको लागि ५० प्रतिशतको अनुदानमा रोटाभेटर र मोटर वितरण गरिएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो । उहाँले रोटाभेटर र मोटर वितरणले कृषकलाई खेती गर्न सहज हुनुको साथै कृषि उत्पादन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।



















