सिमरा,नेकपा एमाले जीतपुरसिमरा उपमहानगरमा पार्टीभित्र देखिएको अराजक गतिविधिको अन्त्य गर्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।उपमहानगर कमिटीको शनीवार मदन-आश्रित स्मृति भवन डुमरवानामा सम्पन्न पार्टीको सचिवालय कमिटीको बैठकले पार्टीलाई चुस्तदुरुस्त र प्रभावकारी पार्ने निर्णय गरेको हो ।
साथै, बैठकले स्थानीय कमिटीहरूको नियमित भेला बैठक र अधिवेशन आयोजना गरी जनसंगठनहरुलाई समेत व्यवस्थित गर्ने निर्णय गरेको छ । बैठकले यसअघि संचालन गरिएको तीनमहीने वडा केन्द्रीत अभियानको समीक्षा पनि गरेको छ ।बैठकमा बोल्दै प्रमुख अतिथि पौडेलले पार्टीको नीति र नेतृत्वमा कुनै विवाद नरहेको स्पष्ट पार्नुभयो । त्यस्ता कुनै समस्या भए विधान महाधिवेशनले टुङ्गो लगाएर जाने उहाँको भनाई थियो ।
नगर कमिटीका अध्यक्ष त्रिलोक शाह ठकुरीको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले मधेस प्रदेश सचिवालय कमिटी सदस्य सुन्दरबहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य किशोर शर्मा, कमलेश झा, सीता गुरुङ, सुभद्रा न्यौपाने, भावना आचार्य, बारा क्षेत्र नम्बर ३ का संयोजक अनिल मैनाली, रमेश खरेल, गीता घले, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतले विभिन्न विषयमा आफ्नो भनाई राख्नुभएको थियो ।बैठकको सहजीकरण नगर सचिव रविन्द्रराज भण्डारीले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष कैमुदिन अन्सारीले गर्नुभएको थियो ।


















