नेपालका अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई पत्नी शोक परेको छ । लामो समय एक विशेष प्रकारको रोगबाट थलिएकी प्रचण्डकी पत्नी सीताको बुधवार निधन भएपछि प्रचण्डसंगै उनको परिवार शोकमा छ ।शोक भनेको सबैलाई पर्ने कुरा हो । सबैलाई यो अर्थमा कि मानिस अजम्बरी कोही पनि छैन । अतः एक दिन यो संसारलाई छाडेर जो भएपनि जानु नै पर्दछ । बिश्वका मै हँु भन्नेहरुले पनि मृत्युलाई आजको दिनसम्म हराएको उदाहरण छैन भलै उनीहरु एकसय वर्ष नै बाचेका चैं किन नहोऊन् ।तर, प्रचण्डलाई शोक परेपछि भने बुधवार मात्रै सामाजिक संजाल हेर्ने र विश्लेषण गर्ने हो भने एक खालको समाज र सोच भएको व्यक्ति पनि देखियो । त्यसो त प्रचण्डका कारण हजारौंको सपना खरानीमा परिणत भएको पनि छ यो पनि सत्य हो । जनयुद्धको नाउमा भएको युद्धले वास्तवमा कयौंलाई निकै ठूलो पीडा दिएको छ ।यो पीडामा खासै सहभागी नभएकाहरुले पनि सीताको निधनमा भने काखी बजाएको अथवा बल्ल प्रचण्डलाई ठीक भयो भन्ने जस्ता कुरा गरेको देखियो तर यो राम्रो कुरा होइल यहाँ प्रचण्डको पक्ष लिन खोजिएको पनि होइन तर जनयुद्ध संचालनमा सीताको भूमिका कति थियो, उनका कारणले कति नेपाली मारिए भन्ने कुरा हो ।शोकमा काखी बजार्नुभन्दा बरु प्रचण्डलाई समय आएपछि कारवाही गर्नसके त्यो चैं बुद्धिमानी हुनेछ । अहिलेलाई प्रचण्ड परिवारलाई समवेदना भनौं र सीता दाहाललाई श्रद्धाञ्जली मात्रै अर्पण गरौं ।

 

Leave a Reply