सिमरा,जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा मकवानपुर क्रिकेट संघ बिजयी भएको छ । मकवानपुरले पर्सा क्रिकेट संघलाई दुई विकेटले पराजित गरेको हो ।बाराको सिमरास्थित सेज क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पर्साले १८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८४ रन बनाएको थियो । पर्साका लागि सफवान अलीले १७, सम्साद मन्सुरीले १४, साहिल हवारीले १३, वशिम मन्सुरीले १२ र अक्युइब अन्सारीले १० रन बनाए ।
मकवानपुरका बलर राजा अहमद र रामनरेश गिरीले ३÷३ विकेट लिए भने शुभ कंसकार र साकार गजुरेलले २÷२ विकेट लिए ।
पर्साले दिएको ८५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मकवानपुरले १६.१ ओभरमा आठ विकेट गुमाउँदै जित हात पारेको हो । मकवानपुरका लागि विशाल फुयाल र विशेष बिक्रम थापाले १९-१९ रन बनाए । पर्साका बल रञ्जित कुमार र सम्साद मन्सुरीले ३-३ विकेट लिए भने अनुज चौहानले दुई विकेट लिए ।जितसंगै मकवानपुरले दुई खेलबाट दुई अंक हात पारेको छ । यसअघि बारा जिल्ला क्रिकेट संघ संग भएको पहिलो खेलमा मकवानपुर पराजित भएको थियो । मकवानपुरले अब बारा र पर्साबीचको खेलको नतिजा पर्खनुपर्नेछ ।बारा र पर्साबीचको खेल बिहीवार हुनेछ । उक्त खेलमा बाराले जितेमा समूह विजेता हुँदै फाइनल प्रवेश गर्नेछ भने पर्साले जितेमा रनरेटका आधारमा फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।
प्रतियोगिता अन्तर्गत बुधबार युनाईटेड क्रिकेट क्लब वीरगन्ज र गरुडा नगरपालिका रौतहटबीच खेल हुनेछ । दुई टिमबीचको विजेता फाइनल प्रवेश गर्नेछ । फाइनल खेल शनीवार हुनेछ ।जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जीतपुरसिमरा स्पोट्र्स क्लबको आयोजनामा जारी प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछ ।


















