पुष्पराज खतिवडा
बारा,मोटरसाइकल दुर्घटना परेर पथलैयामा शनिवार स्थानीय एक जना युवकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका १ का ३० वर्षीय आदेश लामाको मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलमा पथलैयाबाट सिमरास्थित घरतर्फ जाँदै गरेका आदेशको दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो । बाटो काट्दै गरेका हेटौंडा उपमहानगर घर भई ट्रकका सहचालकसमेत रहेका २१ वर्षीय रितेश रुम्बालाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना भएको थियो ।
गम्भीर घाइते भएका रुम्बाको खुट्टा भाँचिएर वीरगन्जको मेडिसिटी बयोधा अस्पतालमा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक दाहालकाअनुसार मृतक आदेशले रुम्बालाई ठक्कर दिएपछि मोटरसाइकलसहित बिजुलीको पोलमा ठोकिनपुगी उछिटिएर दुर्घटनामा परेका हुन् ।



















