काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताउनुभएको छ । कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीले अहिले सरकारमा जाने सोच नबनाएको उल्लेख गर्नुभएको हो ।मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीको बाग्मती प्रदेश सङ्गठन कमिटीको बैठकमा उहाँले एमाले सरकार बनाउने, जोगाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताउनुभयो । ओलीले आफ्नो पार्टी २०८४ सालको चुनावमा एक्लै बहुमत ल्याउने मिसनमा लागेको दाबी गर्नुभयो । उहाँले सरकार र सत्तारूढ दलहरूले झुट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।ओलीले भन्नुभयो, ‘हामीलाई सरकारमा जान हतारो नभएको मात्रै होइन, अहिले हामी सरकारतिर हेरेका पनि छैनौँ । त्यतातिर सोचेका पनि छैनौँ । हामी ग्रासरुटमा लाग्यौँ । अब मिसन २०८४, मिसन ५१ पर्सेन्ट ।’अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुट कुरा गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले त्यो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै त्यो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकमाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको पनि बताउनुभयो ।ओलीले इमान र निष्ठाका साथ देश र नागरिकको पक्षमा काम गर्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Leave a Reply