वीरगन्ज,मार्च १५ तारिख अर्थात सोमबार विश्व उपभोक्ता अधिकार दिवस, वीरगन्जमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा हरेक मार्च १५ तारिक यो दिवस मनाइँदै आइएको हो । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा वीरगन्जमा सोमबार बिहान प्रभात फेरि निकालिएको थियो । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज र उपभोक्ता हित संरक्षण मन्च वीरगन्जको आयोजनामा सोमबार बिहान वीरगन्जमा प्रभातफेरि निकालिएको थियो । प्रभातफेरिमा सहभागीहरुले समान खरिद गर्दा बिल लिने दिने गरौं, म्याद नाघेका सामान खरिद नगरौं, ठगिएको महसुस भएमा उजुरी गरौं, लेभल हेरेर मात्रै सामान खरिद गरौं लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
वीरगन्जको घण्टाघरचोकबाट निस्किएको प्रभातफेरि माइस्थान, आदर्शनगर, घडीअर्वा हुदै पुःन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो । कोणसभालाइ पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमांङ्ग, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका निमित्त प्रमुख जितबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, उपभोक्ता हित संरक्षण मन्च वीरगन्जका अध्यक्ष अजित भुजेल लगायतले उपभोक्ता हक हितको विषयमा आ आफनो धारणा राखेका थिए । नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् । पर्सा, बारा लगायतका मधेसका जिल्लाहरुमा दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर किनबेच हुने भएपनि त्यसको तौल लिन प्रयोग हुने अधिकांश ढक–तराजु अवैधरूपमा प्रयोग भइरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । कानुनी दायराभन्दा बाहिर रहेर व्यापार गर्ने व्यापारीबाट ठग्ने क्रम जारी रहे पनि त्यसलाई रोक्न सरोकारवाला निकायले कडाइ नगरे उपभोक्ता ठगिने क्रम नरोकिने उपभोक्ता हित संरक्षण मन्च वीरगन्जका अध्यक्ष अजित भुजेलले बताउनुभयो ।