कृष्ण मोहन साह
सेढवा,तीव्र गतिमा भइरहेको वन विनासका कारण वातावरणमा आएको परिवर्तनले मानिसले विभिन्न समस्याको सामना गर्नुपरेको मधेस प्रदेशका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले बताउनुभएको छ ।पर्साको गादीमाई साझेदारी वन व्यवस्थापन समूहको प्रथम साधारण सभाको उद्घाटन गर्दै मन्त्री कुर्मीले यस्तो बताउनुभएको हो ।खडेरी, उच्च तापक्रम तथा न्यून बर्षा लगायतका समस्यालाई न्यूनीकरण गर्न वनजंगल संरक्षण अति आवश्यक भएको मन्त्री कुर्मीले बताउनुभयो । वन विनाश रोक्न तथा वन संरक्षणका लागि मधेस सरकार प्रतिवद्ध रहेको मन्त्री कुर्मीको भनाइ छ ।डिभिजन वन कार्यालय पर्साको आयोजनामा सवडिभिजन वन कार्यालय बसन्तपुरमा गादीमाई साझेदारी वन व्यवस्थापन समूहको प्रथम साधारण सभा मंगलवारबाट सुरु भएको हो ।जिल्ला समन्वय समितिका सभापति निरन्जन श्राफको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद शकरप्रसाद चौधरी, वन तथा वातावरण मन्त्रालयका सचिव जगरनाथप्रसाद जैश्वाल, जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरणप्रसाद कुर्मी, सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी उपरीक्षक सुमन थपालियालगायतले साधारण सभा सफलताको लागि शुभकामाना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा तामागढी साझेदारी वन समितिका पूर्वअध्यक्ष एवम बाराको कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, पर्साको पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान, धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्तप्रसाद यादव, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, सखुवाप्रसौनी गापा अध्यक्ष यस्वन्त यादव, जगरनाथपुरका पूर्वगापा अध्यक्ष जालिम मिया मंसुरी, साझेदारी वन व्यवस्थापन महासंघका संस्थापक अध्यक्ष रामरुप कुर्मी, डिभिजन वन कार्यालय रौतहटका अधिकृत सुनिल कर्ण, डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दासले पनि शुभकामाना मन्तव्य व्यक्त गरेका थिए ।साधारण सभामा नयाँ कार्यसमिति चयनका लागि जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, धोबिनी, कालिकामाई, छिपहरमाई गाउँपालिकाका ३७ वटा समुहका २ सय ५९ सदस्यको सहभागिता रहेको छ । यसैबीच बुधवार निर्वाचन प्रक्रियाबाट गादिमाई साझेदारी वन व्यवस्थापन समूहको अध्यक्ष र सदस्यहरुको चयन हुने बताइएको छ ।कार्यक्रमको सन्चालन भने सवडिभिजन वन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत सुमन पाण्डेले गर्नुभएको थियोे ।


















