बारा जिल्ला वन जंगलले भरिएको जिल्ला हो । बाराको उत्तरी भेग त घना जंगलले घेरिएको छ । वन र मानिसबीचको सम्बन्धको विषयमा त धेरै व्याख्या गर्न नपर्ला तर वन संरक्षणको सवालमा मानिसहरुमा जसरी र जुन रुपमा चेतना आवश्यक थियो त्यो भने भएको पाइएको छैन ।

बाराको निजगढमा बुधबार आयोजना गरिएको कार्यक्रममा पनि यस्तै कुराहरु गरेको पाइएको छ । समुदायिक वन महासंघले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले वन संरक्षणका सवालमा चिन्ता जनाएका छन् । उनीहरुको मुख्य चिन्ता चाही विशेष गरेर समुहले संरक्षण गरेको वन अर्थात सामुदायिक वनमा केन्द्रीत थियो । समुदायको यही चिन्ता र चासोले गर्दा पनि हो समुदायमा हस्तान्तरण गरिएको वनको संरक्षण राम्रो छ । त्यस्ता वन क्षेत्रको हैसियतमा पनि सुधार आएको छ । तर जहासम्म राष्ट्रिय वनको कुरा छ । सरकारव्दारा संरक्षित राष्ट्रिय वनको भने पर्याप्त संरक्षण हुन सकेको पाइदैन ।
बाराका केही बस्तीहरु राष्ट्रिय वन मासेर पनि बनाइएको छ ।यो सत्य कुरा हो । वन विनास गरेर मावन बस्ती बसेपछि अब त्यो बस्ती उठाउने कुरै भएन । त्यो अर्कै हो ।बरु त्यो बस्ती वरपरको ठाउँमा भने संरक्षण गर्न आवश्यक छ । अहिले त बारामा वन छ तैपनि भोलिका दिनमा घना जंगल नमासिएला भन्न सकिन्न ।
त्यसैले पनि जिल्लाका सबै सरोकारवला पक्षहरुले यो बिषयमा ध्यान दिन जरुरी छ । जिल्लाका सरोकारवला सहित सबैले चासो दिएको खण्डमा भने बाराका वनहरु अझै संरक्षित हुने छन् । अतः आफ्नो स्वार्थका लागि मात्र नभइ सबैका लागि वनको प्रयोग गरौं ।

















