आरके चौधरी
सखुवाप्रसौनी,शिक्षा विकास तथा समन्वय इकाई, पर्साको आयोजनामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम पर्सास्थित श्री त्रिजुद्ध माइस्थान विद्यापिठ माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक हरेन्द्रप्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माईस्थान विद्यापीठका प्राचार्य मोतीलाल साह, वीरगञ्ज महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जगतप्रसाद कानु, डा. सुरेन्द्र तिवारी, शिक्षा विकास तथा समन्वय इकाई, पर्साका उपसचिव मोतीप्रसाद भट्टराई, शाखा अधिकृत विधानन्द यादव लगायत पर्सा जिल्लाका सम्पूर्ण स्थानीय तहका वडा अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा छात्र–छात्राहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, पर्साका उपसचिव मोतीप्रसाद भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी २०७५ सालको निर्देशिकाबारे विस्तृत जानकारी गराउँदै यसको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले संविधानले सुनिश्चित गरेको आधारभूत तहसम्मको शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार भएकाले कुनै पनि बालबालिका विद्यालय बाहिर नरहने वातावरण निर्माण गर्न स्थानीय तह, विद्यालय र अभिभावक सबै जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
भट्टराईले विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउँदै विद्यालय छाड्ने दर न्यूनीकरण गर्न विशेष ध्यान दिन आग्रह गरे। उनले २०७५ को निर्देशिकाअनुसार बालबालिकालाई विद्यालयमा भर्ना नगर्ने अभिभावकलाई कानुनी दायित्वसमेत रहने व्यवस्था रहेको जानकारी गराउँदै सबैलाई सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।कार्यक्रमका वक्ताहरूले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता जनाएका थिए । सहभागीहरूले शिक्षा क्षेत्रको सुधार, गुणस्तरीय शिक्षा र विद्यालयमैत्री वातावरण निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।कार्यक्रमले पर्सा जिल्लामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनमा थप ऊर्जा र स्पष्टता प्रदान गरेको आयोजकले जनाएको छ ।



















