कोल्हबी,घरभित्र लुकाएर राखिएको अवस्थामा बारा प्रहरीले जिल्लाको कोल्हबीबाट बिहीवार १ क्विन्टल ६८ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।प्रहरीले कोल्हबी नगरपालिका वडा नम्बर ५ सोनाभारस्थित जितेन्द्र चौधरीको घरमा लुकाईछिपाई राखिएको सो परिमाणको गाँजा बरामद गरेको हो ।विशेष सूचनाको बिहिवार घर खानतलासी गर्दा अवैध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुरूषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा खटेको प्रहरी टोलीले घरमा कोही नभएको समयमा स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासिन्दाको रोहबरमा घर खानतलासी गर्दा घरको कोठाभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको थियो ।घरधनी चौधरीलगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोजी कर्यसहित अनुसन्धान भईरहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।प्रहरीका अनुसार उत्तरी छिमेकी जिल्ला मकवानपुर र चितवनमा उत्पादन गरिएको गाँजा बिक्रीको लागि भारततर्फ लैजाने क्रममा सोनाभारस्थित चौधरीको घरमा भण्डारन गरिराखिएको हो । पछिल्लो समय नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गरिएपछि तस्करहरुले मकवानपुरबाट निजगढको रतनपुरी हुदै ल्याएको गाँजा चारकोसे झाडी जंगलबाट दक्षिणतर्फ नजिकै पर्ने कोल्हबीको सोनाभार गाउँमा भण्डारन गर्ने गरेका हुन ।

















